दमक/ पूर्व सभामुख एवं नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बिहिबार झापाको क्षेत्र नं ४ व्यस्त भएका छन । सो क्रममा नेता नेम्वाङले पूर्वको पर्यटकीयस्थल सताक्षीधाम दर्शन गर्दै त्यहाँको अवस्थाबारेमा जानकारी लिएका छन ।

नेम्वाङ आफूले पहिलो पटक धार्मिक क्षेत्र सताक्षीधामलाई नियालेको बताउँदै यसको महिमाका बारेमा भने आफू जानकार रहेकाले यसको संरक्षण र बिकासका लागि आवश्यक सहयोगको प्रतिबद्धता समेत जनाए ।
सो अवसरमा सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुला बोखिम, उपाध्यक्ष उदयप्रकाश राई लगायत धाम बिकास समितिका पदाधिकारीहरुले स्थानीय समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
पूर्व सभामुख नेम्वाङ्गले सताक्षीधाम विकासमा तीनै वटा सरकारले गरेको कामको प्रशंसा गरेका छन् ।
सो अवसरमा झापा क्षेत्र नं. ४ का सांसद साँवा लिम्बुले सताक्षीधाममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट धेरै काम गरेको बताए । सो क्षेत्रमा पाँच वर्ष यता धेरै काम भएको चर्चा गर्दै तर पनि यो पर्याप्त नभएको बताए । धाम विकास समितिले अघि सारेको तटबन्धन र धर्मशाला निर्माणका लागि पहल गर्ने उनको भनाई थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सताक्षीधाम सबै धर्मका अनुयायीहरुको साझास्थल भएकाले यसको विकास र प्रवद्र्धनका लागि शिवसताक्षी नगरपालिकाले गुरु योजना बनाए काम सुरु गरेको जानकारी दिए । त्यसैगरी बिहिबारनै नेता नेम्वाङले शिवसताक्षी ४ बोलोचोकमा झापा इनर्जी लिमिटेडको चौथो बार्षिक साधारण सभा समेत उदघाटन गरेका थिए । सो कम्पनीको नेतृत्व सांसद साँवाले गरिआएका छन । नेता नेम्वाङ शिवसताक्षीमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसंगको साक्षात्कारमा पनि सहभागी भएका जनाइएको छ ।
