पाँचथर,/  उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउनसक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्यचौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ । प्रसूतिपश्चात् आउनसक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक गाउँपालिका–२ की १९ वर्षीया सुत्केरी मनिषा आचार्यको ज्यान गएको पाइएको हो । सुत्केरी बेथाले च्यापेपछि परिवारले आचार्यलाई यही पुस २० गते बिहान ९ बजे माङ्जाबुङ स्वास्थ्यचौकीमा प्रसूतिका लागि भर्ना गरेका थिए ।

स्वास्थ्यकर्मीका अनुसार उनले मध्याह्न ११ः५५ बजे साधारण अवस्थामै २.७ किलोग्राम तौल भएको शिशु जन्माएकी थिइन् । प्रसूतिपश्चात् केही समय आचार्यको स्वास्थ्यावस्था सामान्य रहे पनि केही क्षणपछि रक्तस्राव सुरु भएको थियो । रक्तस्राव रोक्ने प्रयास गरेका स्वास्थ्यकर्मीले उनको उमेर, तौल, रक्तचाप र शारीरिक अवस्थालगायत कारण आउनसक्ने जोखिमलाई ध्यान नदिँदा सोही दिन उनको ज्यान गएको हो । उक्त स्वास्थ्य चौकीका इञ्चार्ज सचिन्द्र मेहताका अनुसार प्रसूति भएको केही समयपछि आचार्यमा रक्तस्रावको समस्या देखिएको थियो ।

स्वास्थ्यकर्मीले औषधि दिइ रक्तस्राव रोक्ने प्रयास गरेका थिए । यद्यपि आचार्यमा देखिएको रक्तस्रावको समस्या हल भए÷नभएको विषयमा स्वास्थ्यकर्मी र मृतकका आफन्तजन तथा स्थानीयवासीका धारणा बाझिएका छन् । दिउँसो ३ बजे जाउलो र दाल खाएपछि सुत्केरी बेहोस भएको स्वास्थ्यकर्मीले बताएका छन् । यता मृतकका आफन्तजन र स्थानीयवासीले भने रक्तस्रावको समस्या निको नभएको र स्वास्थ्यकर्मीले समयमै सुविधासम्पन्न अस्पताल नपठाउँदा सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् ।

मृतकका दाजु मदन आचार्य शव परीक्षण रिपोर्टमा आन्तरिक रक्तस्राव र कम रक्तचापका कारण बिरामीको निधन भएको देखिएकाले स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नी बहिनीको ज्यान गएको बताउनुहुन्छ । “स्वास्थ्यकर्मीले आन्तरिक रक्तस्राव, रक्तचाप र बिरामीको अवस्थाबारे ख्याल गर्नुपर्ने थियो”, आचार्यले भन्नुभयो, “हामीलाई ४ः३० बजेमात्रै बिरामीको अवस्था कमजोर भएकाले बाहिर लैजान भनियो ।” प्रसुतिपछि कम रक्तचापका कारण बिरामी उठ्न नसक्ने अवस्थामा पुग्दासमेत स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल पठाउनेतर्फ ध्यान नदिई स्वास्थ्यचौकीमै राखेको परिवारको गुनासो छ ।

स्वास्थ्यकर्मीले बिरामीको अवस्थालाई ख्याल गरेर समयमै बाहिर लैजान भनेका भए समयमै जिल्ला अस्पताल पु¥याउनसक्ने मृतकका दाजु मदनको भनाइ छ । मृतकका परिवारले स्वास्थ्यकर्मीले जोखिमलाई ख्याल नगरेको र बिरामीको अवस्थाबारे लापरवाही गरेकाले छानविन हुनुपर्ने माग गरेका छन् । “अहिले मेरी बहिनीको मात्रै ज्यान गएको हो । यस्तै गम्भीर लापरवाहीले भोलिका दिनमा अरुको ज्यान नजाओस् भन्ने मात्रै मेरो कुरा हो”, मदनले भन्नुभयो । माङ्जाबुङको चौथी बजारकी रेनुका खड्काका अनुसार अत्यधिक रक्तस्राव भएपछि समयमा जिल्ला अस्पताल नपठाउँदा सुत्केरीको अवस्था कमजोर बनेको थियो । “अलि चाँडो भएको भए बिरामीको ज्यान बच्न सक्थ्यो”, खड्काले भन्नुभयो ।

स्वास्थ्यकर्मी भने बिरामीको अवस्था जटिल बनेपछि आफूहरूले बाहिर लैजानु भनेको बताउँछन् । “४ बजेतिर बिरामी एक्कासि बेहोस भएपछि हामीले बाहिर लैजानु भनेका हौँ । अवस्था छ जटिल भनेका थियौँ”, स्वास्थ्यचौकीका इञ्चार्ज मेहताले भन्नुभयो, “सोभन्दाअघि अवस्था त्यस्तो गम्भीर थिएन ।”

Facebook Comments Box