दमक/ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
दमक ३ स्थित निर्माणाधिन मदन भण्डारी रंगशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा नगरपालिकाका कर्मचारीको टिमले जनप्रतिनिधिहरुको टिमलाई ८–१ को भारी गोल अन्तरले जितेको दमक ५ का वडा सचिव भोसकुमार थुलुङले जानकारी दिए ।


कर्मचारीको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले सर्वाधिक ४ गोल गर्दै म्यान अफ द म्याच समेत घोषित भए । मैत्रीपूर्ण प्रतियोगितामा कर्मचारीको टिमको नेतृत्व राईले गरेका थिए भने जनप्रतिनिधिहरुको टिमबाट खडग राईले नेतृत्व गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले यस किसिमका मैत्रीपूर्ण खेलहरुले मानिसको जिवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसर पारेर क्लब हिमाल टाइगरको आयोजनामा दमक चोकमा सामुहिक दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा दमक चोकमा नगर प्रमुख रामकुमार थापाले राष्ट्रिय झण्डाको झण्डोत्तलन समेत गरे ।
त्यस्तै दमक ४ को ताराबारी डिपु सडकमा सोही अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले युवाहरुको सहभागितामा श्रमदान गरी सडकका खाल्डाखुल्डी पुरिएको छ ।

Facebook Comments Box