दमक/ प्रदेश एकका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथग्रहण लगत्तै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक/ एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् । प्रदेश एक सरकारमा प्रदेश संरचनानै खारेज हुनुपर्ने अडान लिएको राप्रपा समेत सहभागी भएको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका हुन् । मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेपनि मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिएका छैनन् । नेकपा माओवादी केन्द्रले प्रदेश एक सरकारको मुख्यमन्त्रीमा कार्कीलाई समर्थन जनाएपनि मन्त्रीहरुको सपथमा सहभागिता जनाएन । माओवादी केन्द्रले मुख्यमन्त्रीको कार्यकाल आगामी ५ बर्षको आधा ÷ आधा हुनुपर्ने अडान लिँदै सपथमा सहभागिता नजनाएको चर्चा छ । केन्द्र सरकारको नेतृत्व गरेको माओवादी केन्द्र भित्र प्रदेश एक सरकारमा भने सहभागिताको बिषयलाई लिएर आन्तरिक बहस टुंगिनसकेको नेताहरुले बताएका छन ।
