दमक/ झापाको कमल गाउँपालिका वडा नं ३ स्थित केर्खा बजार र आसपासमा उत्तरी क्षेत्रबाट आएका हात्तीले उपद्रो मच्चाउन थालेपछि स्थानीय सरकारले सावधानीको उपायहरु अवलम्बन गरेको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीसहित जनप्रतिनिधिहरुले हात्ती प्रभावित सो क्षेत्रको स्थलगत जानकारी लिँदै स्थानीयबासीहरुसंग समस्या समाधानका लागि परामर्श लिएका छन । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले केही दिन यता सो क्षेत्रमा हात्तीको बथाननै आएपछि जनजिवन त्रसित बनेको बताउनु भयो । अध्यक्ष राईले हात्तीको समस्या केर्खाका अतिरिक्त,वडा नं ५ को सिम्ले, टुकुरे लगायतका बस्तीमा पनि रहेकाले हात्तीको आतंक न्यूनिकरण गर्दै कमलबासीको जिउ धनको सुरक्षाका लागि आवश्यक निकायहरुमा समन्वय गरिएको जानकारी दिनु भयो ।


उहाँले पालिकाको तर्फबाट जिल्लास्थित सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायत सम्बन्धित निकायमा समस्याका बारेमा जानकारी गराएर जोखिम रोकथाम तथा न्यूनिकरणका लागि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता आएको पनि जनाउनु भयो ।
अध्यक्ष राईले भन्नु भयो– हात्तीले घर भत्काउने, अन्नबाली खाने र जनजिवन आतकिंत बनाइरहेको हुनाले तत्काल सबै सुरक्षा निकायसंग समन्वय गरि गस्ति बढाउन माग गरिएको छ । केर्खा बजारदेखि कमल पुल सम्मको बाटो उत्तर तर्फ जंगलको झाडी सफा गर्ने, हात्ती धपाउन प्रयोग हुने साईरन, टर्च लाईट जस्ता सामाग्री तत्काल उपलब्ध गराउने प्रकृया अघि बढाएका छौं । आवश्यक ठाउँमा सडक बत्ती जडानको काम समेत गरेर जोखिम न्यूनिकरणको प्रयास गरिने उहाँले बताउनु भयो ।

Facebook Comments Box