शनिबार दमकमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका दुई पदाधिकारी र ५ जना सदस्यहरु मतदान प्रकृयाबाट चुनिए । रेडक्रस दमकको इतिहासमा यो पहिलो चुनाव भने होइन । यसअघि पनि आंशिक नेतृत्व निर्विरोध निर्वाचित हुने र आशिंक पदहरुमा मतदानको अवस्था सिर्जन हुने गरेको थियो ।
पछिल्ला ९ महिनाका बीचमा मुलुकमा ठुला ठुला निर्वाचन सम्पन्न भए । दमक र आसपासको भुगोलमा अन्यत्र भन्दा अलि फरक ढंगको राजनीतिक अभ्यासहरु भएको प्रत्यक्ष रुपमै देखियो ।
केही फरक खालको मोर्चाबन्दी स्थानीयस्तरका दलीय निर्वाचन र अन्य संघ संस्थाका नाममा हुने निर्वाचनमा देखिनु यहाँका लागि नौलो त होइन । तथापी पुषको कठ्ंयाग्रिदो मौसमका बीच नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको निर्वाचनको तातोका बिषयमा देखिएका यथार्थलाई पक्तिंकारले सांकेतिक रुपमा भए पनि पस्किनु मनासिब ठानेको छ ।
सत्य तितो हुन्छ भनेझैं यहाँ चर्चा गरिएका कतिपय तथ्यपरक कुराहरु यहाँहरुका लागि तितो हुन सक्छ । कसैका लागि वेस्वाद पनि हुन सक्छ यो खुराक ।

मोर्चाबन्दीको गलत अभ्यास
रेडक्रस दमकको निर्वाचनलाई लिएर यहाँ राजनीतिक दलहरु निक्कै समय अघिदेखि रस्साकस्सीमा लागे । खासगरी सामाजिक सेवाको भावनाले ओतप्रोत रेडक्रस अन्तराष्ट्रिय सञ्जाल भएको र सामाजिक सेवाका लागि अति उत्तम, निर्विवादित र मर्यादित संस्था हो । यसको गरिमा समाजमा क्रियाशील अन्य संघ संस्थाहरुको तुलनामा अझ उच्च छ भन्दा अतिशयोक्ति नहोला ।
यो मानवीय सेवामा समर्पित सामाजिक संस्थाको मूल उद्धेश्य र लक्ष्यलाई पछयाउने अभ्यासमा लाग्नु भएका कसैप्रति पनि आग्रह पूर्वाग्रह पटक्कै होइन । तर यति चाहिं भन्नै पर्ने हुन्छ कि यो संस्थाको यसपटकको निर्वाचनलाई नजानिदो पाराले लुकि लुकि राजनीतिक रंगको लेपन लगाइएको छ । अझ भनौं रेडक्रस जस्तो उच्च मर्यादित संस्थामा दलगत प्रभावले रेडक्रसको शिर धेर थोर निहुरिएको छ ।
नेतृत्व चयनका लागि निर्वाचन प्रकया एउटा लोकतान्त्रिक अभ्यास हो । यो तथ्य र यथार्थलाई हामीले स्विकार्नै पर्छ त्यसो भन्दैमा नेतृत्व चयनका लागि रेडक्रस जस्तो पवित्र संस्थाको गरिमामा आँच आउने गरी दलका नेताहरु गुटबन्दीमै लाग्नु पर्छ भन्ने छैन र होइन ।
संस्थाको इतिहास, वर्तमानको आवश्यकता र भावी योजनालाई दिशा निर्देश गर्ने व्यक्ति रेडक्रसकर्मी चुन्ने बिषयमा अघोषित हानथाप र लुछाचुँडी अशोभनिय अभ्यास हो ।
खासगरी यहाँका प्रमुख राजनीतिक शक्ति नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको सांकेतिक मोर्चाबन्दीका विरुद्ध नेकपा माओवादी केन्द्रले उभिने प्रयत्न गरेको झल्को निर्वाचन दौरानमा देखियो । यति सम्म कि निर्वाचित जनप्रतिनिधिहरु समेत भित्रभित्रै यो संस्थाको नेतृत्व चयनमा राजनीतिक प्रतिस्पर्धाको भावनाबाट उत्रिएका बुझन गाह्रो छैन ।
कांग्रेस , एमाले, माओवादी केन्द्र र राप्रपाका स्थानीय नेतृत्व यो निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न भए । संस्थाको आजिवन सदस्य समेत हुनुका नाताले पनि कतिपय नेतृत्वहरु चुनावी मैदानमा देखिएका भए पनि आआफना समर्थक उम्मेदवारहरुलाई जिताउन सांकेतिक आग्रह गर्दै उत्रिएको दृश्यले मानवीय सेवामा समर्पित यो संस्थाको गरिमालाई भने नराम्ररी गिज्याएको छ ।

अघोषित प्यानल विजयी, एक्लियो माओवादी
निर्वाचनको मत गणना सकिइसकेको छ । प्राप्त मत परिणाम अनुसार सोसाइटीको दमक उपशाखा सचिवमा घनश्याम कोइराला ३१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी तिर्थराज बस्नेत शंकरले २५२ मत ल्याएका छन । निर्वाचनस्थलमा कोइरालालाई एमाले, कांग्रेस र राप्रपाका स्थानीय नेतृत्वहरुको समर्थन रहेको संकेत देखिन्थ्यो भने बस्नेतलाई माओवादी केन्द्रका नेता, कार्यकर्ता र अन्य कतिपय शुभेच्छुकहरुले समर्थनको संकेत गरिरहेका देखिन्थ्यो ।
त्यसैगरी उपसचिवमा बबरजंग थापा (किरण) ४३८ मत अर्थात भारी मतान्तरसहित विजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी अनिल सुवेदीले १२० मत प्राप्त गरेर उपिवेजतामा सिमित बन्न पुग्नु भयो । थापालाई अघोषित रुपमा तीन दलीय मोर्चाका नेताहरुको समर्थन देखिन्थ्यो भने सुवेदीलाई माओवादी केन्द्रका नेताहरुको समर्थन देखिन्थ्यो ।
कार्यसमिति सदस्य महिला तर्फ मैना दाहाल ३१८ मतसहित , पुरुष तर्फ कार्यसमिति सदस्यमा सुमनकुमार नेपालले सर्वाधिक ४६० मत ल्याएर विजयी बन्नु भयो । डा. सूर्यनारायण साहले ४४७ मत, ध्रुवप्रसाद न्यौपानेले ४३९ मत र पारसमणी आचार्यले ३६३ मत ल्याएर विजयी हासिल गर्नुभयो ।
कार्यसमिति सदस्यमा निर्वाचित हुने रेडक्रसकर्मीहरुलाई पनि कुनै न कुनै कोणबाट राजनीतिक समर्थनको संकेत प्रष्ट झल्किन्थ्यो ।
राम्रो गर्नैका लागि दलहरु गुहारेका हौं– सभापति बुढाथोकी

लामो समयदेखि दमकमा रेडक्रसको नेतृत्व गर्दै आएका रेडक्रस सोसाइटी उपशाखा दमकका निर्विरोध निर्वाचित सभापति प्रकाश बुढाथोकी दमकमा रेडक्रसले अहिले सम्म प्राप्त गरेका उपलब्धीहरुको रक्षा प्राथमिक बिषय भएको तर्क गर्नुहुन्छ ।
निर्वाचनमा दलहरुको सक्रियतालाई उहाँले स्वभाविक रुपमा लिइएको बताउँदै महत्वपूर्ण र विशेष किसिमका योजनाहरु प्नि छन त्यसको कार्यान्वयनमा आवश्यक नेतृत्व चुन्नका लागि हामीले पनि मध्यस्थता गरिदिन दलहरुलाई आग्रह पनि गरेका हौैं– सभापति बुढाथोकीको तर्क छ ।
अरु केही होइन रेडक्रसमा अहिले सम्मका जतिपनि उपलब्धीहरु छन तिनको रक्षा गरौं भन्ने सोचाई हो – बुढाथोकीको प्रष्टोक्ति छ । यहाँ साँच्चिकै गरौं भन्ने सोच राखेर आउनु भएका रेडक्रसकर्मीहरु पनि हुनुहुन्छ । हुन त यसमा लिनु दिनु केही छैन । अस्पतालको कुरा छ अरु पनि कुराहरु छन जो दमकका लागि आवश्यक छन त्यसैका लागि गरौं भन्ने आशयले साथीहरु आउनु भएको छ ।