धनुषा/ सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ काे वडाध्यक्षका लागि यसअघि भएको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।
न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन ७ काे अध्यक्षका लागि पुनः मतगणनाका लागि आज शुक्रवार आदेश दिएको अदालतका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयाे । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणनाअनुसार हरिवन–७ को अध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की एक मतान्तरले निर्वाचित हुनुभएकाे थियाे ।
निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्की तीन सय ७९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापा (अशोक) ले तीन सय ७८ मत पाउनुभएकाे थियाे । कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गर्नुभएकाे थियाे । अदालतले आज अन्तरिम आदेश जारी नगरि पुनः मतगणनाको आदेश दिएको हाे ।
अदालतका रजिस्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताउनुभयाे ।