दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुञ्जीबारी बजार पूर्व कमल बनियानी खोलाले बर्षेनी कटान गर्दा वस्तीनै जोखिममा पर्ने खतरा बढेको भन्दै दिगो समाधान खोजिनु पर्ने स्थानीयहरुले माग गरेका छन ।
खोला कटान नियन्त्रणका लागि आवश्यक तटबन्धन निर्माणको योजना माग गर्दै सो योजनाका लागि सम्बन्धित वडा कार्यालयले उपभोक्ता समिति समेत गठन गरेको छ ।
कार्यालयले स्थानीय भीम प्रसाद राजवंशीको अध्यक्षतामा समिति गठन गरेर तटबन्धनको योजनाका लागि पहल गरेको हो । समितिको सचिवमा गणेशलाल राजवंशी, कोषाध्यक्षमा अनिता गोस्वामी, सदस्यहरुमा भारतीदेवी गोस्वामी, मायादेवी गोस्वामी, अम्बरकुमार राजवंशी र पूर्ण बहादुर राजवंशी रहेका छन ।
हुलाकी मार्ग अन्तर्गत सो खोलामा अवस्थित पक्की पूलबाट उत्तरतर्फ पर्ने सो योजनालाई तटबन्धन निर्माणको योजनामा समावेशका लागि गाउँपालिकाले गैंडेस्थित जनताको तटबन्धन कार्यालयलाई सिफारिस गरेको छ । तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष राजवंशीले सो क्षेत्रमा ढुंगाको तारजालीसहित कटान नियन्त्रणका लागि आवश्यक पहल गरिने बताए ।
सो खोलाको कटान र डुबानका कारण बर्षेनी सो वडामा कैंयौं विगाहा धानखेती योग्य जमिन नोक्सान हुँदै आएको छ भने दर्जनौं घर परिवार विस्थापित हुने गरेका छन ।