दमक/ झापाका तीन अलग अलग ठाउँबाट प्रहरीले मंगलबार लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
झापा गाउपालिका वडा नं. १ सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे.८ प. ५३४४ नम्बरको मोटरसाइकलमा रहेका कन्काई नगरपालिका वडा नम्बर ५ का अन्दाजी २२ बर्षिय गौरव चुँडाल र वडा नं ४ का अन्दाजी ४४ बर्षिय भिम बहादुर बस्नेतलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ७०० मिलिग्राम र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको हो ।
त्यसैगरी झापा गाउपालिका वडा नं. ४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदैं गरेको झापा अर्जुनधारा नगरपालिका वडा नं. ७ का अन्दाजी २३ बर्षिय बामदेव मिश्रलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ५०० मिलि ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं. ६ भट्टराई चौकमा पैदल हिडिरहेका सोही ठाउँका २८ बर्षिय दिलिप लिम्बुलाई प्रतिबन्धित लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ५०० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
