दमक/ नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार गठन भएका वडा तहको सरकार ( सिंहदरबार) को अधिकार सुरक्षित बनाउन वडा कार्यालयको सेवालाई समेत विकेन्द्रीकृत गर्ने अभ्यास गरिएको छ ।

इलामको माङसेबुङ गाउँपालिकाले २ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउने प्रयास स्वरुप वडा कार्यालयको छुट्टै सेवा केन्द्र स्थापना गरेको हो । गाउँपालिकाले आइतबार वडा नम्बर २ को चित्रे टोलमा वडा कार्यालयको शाखा अर्थात सम्पर्क कार्यालय स्थापना गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनु भयो । सो सम्पर्क कार्यालयको पालिका अध्यक्ष राईले उदघाटन समेत गर्नुभएको छ । सो कार्यालयबाट प्रत्येक सोमबार सेवा प्रवाह हुने जनाइएको छ ।
सो अवसरमा अध्यक्ष राईले सेवाग्राहीको माग बमोजिम सो कार्यालय स्थापना गरिएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, वडा अध्यक्ष कृष्णबहादुर बस्नेतसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय सेवाग्राहीहरुको उपस्थिति थियो । वडाको माथिल्लो भेग खाम्नुवा, टेलिटार, दहगाउँ, याङरुपे, डाँडागाउँ, गैरीगाउँ, रक्से, चित्रेगाउँ, पावालगायतका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी गाउँपालिकाले चित्रेमा वडाको शाखा कार्यालय स्थापना गरेको हो ।
प्रदेश एकमा कुनै पनि पालिकाले यस किसिमका सेवा कार्यालय स्थापना गरेको यो पहिलो भएको दाबी गरिएको छ ।