दमक/ झापाका माछापालक किसानहरुले भारतबाट माछाको आयात र बिक्रीवितरणमा पुर्ण रूपमा रोक लगाउन माग गर्दै स्थानीय सरकारहरुको ध्यानाकर्षण गराएका छ्न । मत्स्यपालक कृषक समूह झापाको अगुवाइमा उनीहरूले जिल्लाका सबै पालिका कार्यलयहरुमा ध्यानाकर्षण पत्र बुझाउने क्रम जारी राखेका हुन ।
आईतवार कमल गाउँपालिका कार्यलय आईपुगेको कृषकहरुको समुहले प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य मार्फत गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई सो ध्यानाकर्षण पत्र बुझाएका हुन । पत्रमा भारतबाट खुल्ला सीमाको फाइदा उठाउदै भित्राईएका मरेका माछा समेत फर्मालिन प्रयोग गरेर बिक्रीवितरण गरिदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेको प्रती गम्भीर हुन भनिएको छ ।
पत्र बुझाउदै समुहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले आयातित माछाका कारण स्थानीय उत्पादनको बिक्रीवितरणमा समेत समस्या हुँदा माछापालक किसानहरुले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था आएको बताए । त्यसैगरी कमल ७ का माछापालक कृषक दुर्गा सेढाईले माछापालन ब्यवसायलाई प्रोत्साहन गरेर स्वस्थ माछा उपभोगको अधिकार समेत सुरक्षित गर्नु आवश्यक रहेको बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत शाक्यले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि भारतबाट आयातित उत्पादनहरुमा कडाइँ गरिनु आवश्यक भएकाले गाउँपालिकाले नीतिगत रुपमानै यस किसिमका समस्याको समाधानमा लाग्ने बताए । उनले सो पत्रका बिषयमा अध्यक्षसहित जनप्रतिनिधिहरुलाई जानकारी गराइने प्रतिबद्धता समेत जनाए ।

Facebook Comments Box