दमक/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारी फिर्ता नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन गरेको हो । मन्त्रालयले लेखेको पत्रमा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता वापतको रकम मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत पठाइने पनि उल्लेख छ ।
विभिन्न प्रदेश र स्थानीय तहमा समायोजन भएर स्वीकृत दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई तलब भत्ता अपुग हुने भन्दै स्थानीय तहहरुले मन्त्रालयमा फिर्ता पठाएका थिए । समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको नपुग तलब भत्ता हाललाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत पठाइने छ – पत्रमा भनिएको छ ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको थियो ।
