दमक/ पुष १७ गते प्रदेश एकको प्रथम अधिवेशन निश्चित भएसंगै आगामी प्रदेश सरकारको नेतृत्व कसले गर्ला ? र को को मन्त्री बन्लान ? भन्ने अनुमानमा केन्द्रित बहस चुलिएको छ । त्यति मात्रै होइन अघिल्लो पाँच बर्ष प्रदेशको नामाकरणनै नगरी टुंगिएको यो प्रदेशको नामाकरणका लागि महत्वपूर्ण पक्षहरुका बारेमा पनि बहस शुरु भएको छ ।
राष्ट्रिय राजनीतिको समिकरणमा आइतबारदेखि एकाएक आएको परिवर्तनले यो प्रदेशलाई प्रत्यक्ष प्रभाव पार्ने निश्चितनै छ । केन्द्र सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले लिएपछि अब प्रदेश एकको नेतृत्व एमालेले पाउनु पर्ने सत्तारुढ दलहरुका बीचमा छलफल भइरहेको छ ।

सिट संख्याका हिसाबले पनि एमाले यो प्रदेशको सबैभन्दा ठुलो दलका रुपमा स्थापित भएका कारण अब बन्ने प्रदेश एकको सरकारमा मुख्यमन्त्री एमालेलेनै पाउने निश्चित जस्तै छ ।
नेकपा एमालेको नेतृत्व सरकारमा कसले गर्ने भन्ने बहसको अन्त्य भइसकेको छ । प्रदेश एकमा संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वसम्मत चयन भइसकेका छन ।
प्रदेश १ मा आफनो नेतृत्वको सरकार बन्ने र त्यसको लागि ११ सदस्य मन्त्री मण्डल बनाउने तयारी भएको एमाले निकट श्रोतले जनाएको छ ।
अहिले प्रदेश १ मा मन्त्री मण्डलको संख्या १४ छ ।

प्रदेश १ मा सरकार बन्ने तयारी गर्दैगर्दा मन्त्रालयलाई समायोजन गरेर ११ मन्त्रालय बनाएर जाने बारेमा छलफल गरेर जाने जनाइएको छ । श्रोतका अनुसार, ‘अहिले भएको १४ सदस्य मन्त्री मण्डलको काम छैन भन्ने नै हो, अब बन्ने सरकार ११ सदस्यीय बन्न सक्नेछ ।’ कुन मन्त्रालयलाई कसरी समायोजन गर्ने र कसरी मन्त्री मण्डल बनाउने भन्ने बारेमा भने कुनै तयारी भइसकेको छैन । नेकपा एमाले संसदीय दलका नेता कार्कीले सरकार कस्तो र कसरी बनाउने भन्ने बारेमा अन्य दलहरूसँगको छलफलबाट टुंगो लाग्ने पत्रकारहरुमाझ बताइसकेका छन ।

यी हुन सक्छन् मन्त्री

एमालेको नेतृत्वकामा सरर बनेमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपा सरकारमा सहभागी हुने सम्भावना औंल्याइए पनि राप्रपा र जसपा केन्द्र सरकारमा अहिलेको सत्तारुढ समर्थक भएपनि प्रत्यक्ष रुपमा सरकारमा सहभागी भइसकेका छैनन । जसपाले एक साता भित्रै केन्द्रदेखि प्रदेश सम्मका सरकारमा आफनो सहभागिता रहने नरहने निधो गर्ने जनाइसकेको छ भने राप्रपाले समेत दुई÷तीन दिन भित्र निधो गर्ने बताइएको छ ।

केन्द्रमा राप्रपाले अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि सरकारमा सहभागिता सुनिश्चित गरिसकेको छैन । आफना एजेण्डाहरुको सम्बोधन भए मात्रै सरकारमा बस्ने राप्रपाको तयारी छ । केन्द्र सरकारमा माओवादीको नेतृत्व रहेकाले माओवादी नेतृत्वमा सरकारमा नबस्ने तर प्रदेशमा माओवादी केन्द्र इतरका अन्य कांग्रेस – एमालेको नेतृत्वमा सरकार बन्ने देखिए सहभागी भएर जान सक्ने राप्रपा भित्र बहस छ ।
त्यस्तै सभामुख कसलाई बनाउने भन्ने एमाले भित्र कुनै निर्णय भएको देखिँदैन। यद्यपि अहिलेसम्म सुनसरीका रेवती रमण भण्डारी वा ताप्लेजुङका तिलकुमार मेन्याङ्वो मध्ये एकजनालाई सभामुख बनाउने सम्भावना रहेको एमाले निकट श्रोतले बताएको छ। यिनै दुई मध्ये एकजना सभामुख वा मन्त्री बन्न सक्ने जनाइएको छ ।

 

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका लिलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पिके राई पनि मन्त्रीको दाबेदारका रूपमा देखिएका छन्, दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित धनकुटा निरन राई र इन्द्रमणी पराजुली पनि मन्त्री बन्ने लाइनमा देखिएका छन् ।
त्यस्तै महिला मन्त्रीको रूपमा भोजपुरकी सिर्जना राई र उदयपुरकी सिर्जना दनुवार पनि चर्चामा छन् ।
नेकपा माओवादी केन्द्रबाट इन्द्रबहादुर आङबो, गणेश उप्रेती, दुर्गा चापागाईँ, राजेन्द्र कार्की र गीता तिम्सिना मन्त्री बन्ने चर्चा छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको अवस्थामा भक्तिप्रसाद सिटौला र अमर विष्ट, जसपाकी एक्ली संसद् निर्मला लिम्बू पनि मन्त्री बन्ने सम्भावना रहेको चर्चा छ ।

Facebook Comments Box