काठमाण्डौ / पुष्पककमल दहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने ÷नजानेबारे एक सातापछि निर्णय लिने भएको छ । राजनीतिक समितिको बैठकपछि मात्र सरकारमा जाने या नजाने बिषयमा निर्णय गर्ने भएको हो ।
आउँदो १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेता समेत चयन गरेको छैन ।
प्रतिनिधि सभामा जसपाको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सासंदको समर्थन रहेको छ । नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।
त्यस्तै तीन जना स्वतन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमै सहभागी भएका छन् ।

 

Facebook Comments Box