दमक/ आज २५ डिसेम्बर अर्थात क्रिस्टमस डे । इसाई धर्मावलम्बीहरुले विशेष महत्वसाथ यो पर्व मनाउने गर्छन । इसाइ धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवका रुपमा मनाइँदै आएको यो पर्वको नामनै ख्रीष्टको नामबाट रहन गएको हो ।
ख्रीष्टको उच्चारण गर्ने क्रममा बोलीचालीको भाषामा क्रीस्टमस हुन गएको जानकारहरु बताउँछन । विश्वभरका चर्च अर्थात प्रार्थना भवनहरुमा उनका अनुयायीहरुले केही दिनदेखि येशु ख्रीष्टको महिमाको चर्चा परिचर्चा गर्नुका साथै विभिन्न कार्यक्रमहरु गरिआएका छन ।
यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले क्रिस्टमसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गरेका छन ।
मुख्यमन्त्री राईले हामीले मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास पनि व्यक्त गरेका छन ।
मुख्यमन्त्री राईबाट जारी शुभकामना सन्देशमा भनिएको छ–यस पर्वका अवसरमा प्रभु येशुको शिक्षा एवं उपदेशको मनन गर्ने, आपसमा प्रेम प्रकट गर्ने र शुभकामना उपहार आदानप्रदान गर्ने परम्परा छ ।
नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा स्वीकारे गरेकाले एकातिर आ–आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति, रीति–रिवाज मान्न पाउने अधिकार र स्वतन्त्रता सुरक्षित छ भने अर्कोतिर सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्यका साथै सबै नेपालीको साझा दायित्व र कर्तव्य हो भएको पनि शुभकामना सन्देश मार्फत स्मरण गराइएको छ ।
सन्देशमा हाम्रा जुनसुकै चाडपर्व, संस्कृति र परम्पराहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण छन् पनि भनिएको छ ।