दमक/दमकमा बुधबार येशु ख्रीष्टको शुभजन्मोत्सव अर्थात ख्रीष्टमस डे मनाइएको छ ।
दमक नगर इसाई समाजले यस अवसरमा शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । औपचारिक कार्यक्रम अघि समाजले बृहत शान्ति –याली निकालिएको थियो ।
अवसरमा १ नम्बर प्रदेश प्रमुख पशुराम खापुङले सवै जातजाती, धर्म र संस्कृतिको उचित संरक्षण, प्रवर्दन र विकासमा नेपाल सरकारले नीति, बजेट र कार्यक्रम बनाएको बताए । खापुङले सवै जातजाती, धर्म, संस्कृतिको मूल्य–मान्यता र अस्तित्वलाई आत्मासाथ र अवलम्बन गरी आपसमा प्रेम, सदभाव र मान–सम्मानलाई कायम राख्नुपर्नेमा जोड दिए ।
दमक नगर इसाई समाजका अध्यक्ष आकाश थुलुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा ९१ बर्षिया बिष्णुमाया बस्नेत र ९३ बर्षिय प्रेम लामालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बिभिन्न मण्डली र चर्चका कलाकारहरुले मनोरञ्जनात्मक गीत र नृत्य प्रस्तुत गरेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा दमक नगरपालिका ७ का वडाध्यक्ष तथा दमक नगरपालिका कार्यवहाक प्रमुख भीम पौडेल, अन्तर धार्मीक महासञ्जालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, मोरङको जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन हेमब्रोङ, दमक रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा, जेष्ठ नागरिक प्रष्ठिानका अध्यक्ष सिताराम खतिवडा लगायतको आतिथ्य रहेको थियो ।