तेह्रथुम/ तेह्रथुमको म्याङ्लुङ नगरपालिका–७ मा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका–४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । प्रहरीका अनुसार हिजो मंगलबार बिहान प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।