विराटनगर/ प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक आज मंगलबार बसेको छ । बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको छ ।
यो निर्णयपछि निर्वाचन आचारसंहितालगायतका कारणले रोकिएको पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ ।
प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि, २०७९ स्वीकृत गरेको छ ।
यसैगरी, सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तहमा अपाङ्गता सहायता कक्ष सञ्चालन सम्बन्धी कार्यविधि, २०७९, सोही मन्त्रालयको ब्रिज कोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई प्रदेश खेलकुद विकास बोर्डमार्फत खर्च गर्ने गरी नगद पुरस्कारसहित सम्मान गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत निकासा भएको बजेट बैठकले स्वीकृत गरेको छ ।
यस्तै, पुस ४ गते सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ४, बाक्सिला बजारमा भएको आगलागीको घटनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।