दमक/ कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको कसरत जारी रहे पनि उनी आफ्नै समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सकेका छैनन् ।

दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थापालाई अन्तिम घडीमा आफ्नै समूहका नेता शेखर कोइरालाले ‘ब्रेक’ लगाउन खोजेका छन् । दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदै छ भने मंगलबार मनोनयनको कार्यक्रम छ । मनोनयन गर्नुअघिसम्म शेखर र गगनमध्ये एकलाई सर्वसम्मत उम्मेदवार बनाउने कसरत भइरहे पनि एक वर्षअघि सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा देखिएकै प्रवृत्ति दोहोरिने संकेत देखिन थालेको छ ।

महाधिवेशनको एक वर्षपछि बुधबार हुन लागेको संसदीय दलको चुनावमा उम्मेदवार बन्न आफ्नै समूहभित्र शेखर र गगनबीच खिचातानी बढिरहेको छ । यसले पुरानै नियति दोहोरिने चिन्ता यो समूहका नेताहरूमा छ । शेखरले महाधिवेशनका बेला आफू प्रधानमन्त्रीका लागि नभएर सभापतिको प्रतिस्पर्धामा मात्रै अघि सर्ने बताएका थिए । सभापतिमा पनि ‘एक पटक, यसै पटक’ उनको नारा थियो । १५ औं महाधिवेशनमा नेतृत्वमा युवालाई अघि बढाउने आकर्षक मुद्दा अघि सारेकाले १४ औं महाधिवेशनमा थापा शेखरकै प्यानलबाट महामन्त्री बनेका थिए । ‘दुई जना नमिल्दा हामी अझै कमजोर हुने हो,’ संस्थापनइतर पक्षका नेता सञ्जय गौतमले भने, ‘महाधिवेशनमै ठूलो शक्ति गुमाएका छौं । यस पटक फेरि मिल्न सकेनौं भने पार्टीको विपक्षी मोर्चा कमजोर बन्नेछ, त्यसैले हाम्रो जोड सर्वसम्मत उम्मेदवार बनाउनेमै छ ।’

१३ औं महाधिवेशनबाट सभापति चुनिएको सय दिन पनि नपुग्दै देउवाको कार्यशैली र भूमिकाको विरोध गरेर पाँच वर्षसम्म नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाउने नेताहरू नै १४ औं महाधिवेशनमा आफैं बदलिन पुगेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले देउवाको विकल्प खोज्ने सवालमा सबैभन्दा अग्रमोर्चामा आफूलाई उभ्याएका थिए तर महाधिवेशनमा आफूलाई सहयोग नगरेपछि उनी तटस्थ बसिदिए । उनले महाधिवेशनमा भोटसमेत हालेनन्, जसको लाभ देउवालाई मिल्यो ।

नेतृत्व परिवर्तनका लागि चर्को मुद्दा उठाउने अर्का नेता हुन्– पूर्वमहामन्त्री प्रकाशमान सिंह । देउवासँगै महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा पनि गरे । सभापतिमा पाँच जनाबीचको प्रतिस्पर्धामा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई साथ दिए । दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

देउवाकै टिमबाट विद्रोह गरेर नेतृत्व परिवर्तन गर्न पूर्वउपसभापति विमलेन्द्र निधि पनि अघि सरे । चुनावमा प्रतिस्पर्धा गरे । सिंहले जस्तै उनले पनि दोस्रो चरणमा देउवालाई साथ दिए । आफ्नै दाइ शेखरको पक्षमा शशांकसमेत उभिएनन् । युवा नेता प्रदीप पौडेल देउवा प्यानलबाटै महामन्त्रीका प्रतिस्पर्धी बने । चुनावमा नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाएका पौडेल पनि देउवाकै पक्षमा उभिने संकेत गरेका छन् ।

संसदीय दलको अंकगणित देउवाको पक्षमै देखिन्छ । शेखर र गगन मिल्दा संस्थापनइतर पक्षमा ३२ सांसद छन् । केहीलाई प्रभावमा पार्न सक्ने पौडेल, सिंह, कोइराला, निधि सबै देउवाकै पक्षमा लाग्ने सम्भावना छ । निधिबाहेकका नेता पहिला संस्थापनइतर खेमाकै हुन् । महाधिवेशनदेखि नै उनीहरूको भूमिका बदलिएको हो । निधिले सार्वजनिक रूपमा देउवालाई दलको नेता बनाउन जोड दिँदै आएका छन् । पौडेलले आफूले कुनै निर्णय लिइनसकेको र पार्टीका शुभचिन्तक तथा नेताहरूसँग छलफलमै रहेको बताएका छन् ।

‘शेरबहादुरजी आफ्नै तयारीमा हुनुहुन्छ तर परिस्थिति अप्ठ्यारो छ, के गर्दा ठीक हुन्छ, कसो गर्नुपर्छ भन्नेमा म छलफलमै छु, कुनै निर्णय भइसकेको छैन,’ पौडेलले भने । पौडेल र अर्का नेता प्रकाशमान सिंहले शेखर वा गगनलाई सघाउने सम्भावना कम भएकाले उनीहरूको सहयोग देउवालाई हुने बुझाइ कांग्रेसभित्र छ । आफ्नो रोजाइ देउवातिर भए पनि शेखर (दाजु) उम्मेदवार भएमा आफूलाई अप्ठ्यारो पर्ने प्रतिक्रिया शशांकले दिएका छन् तर महाधिवेशनदेखि नै शेखर–गगनसँग उनको सम्बन्ध राम्रो छैन ।

शेखर र गगन मिल्दा पनि संस्थापनइतर पक्षमा ३२ भन्दा बढी सांसद नभएकाले देउवालाई तत्काल दलको नेताबाट हटाउन सक्ने सम्भावना कम छ । संस्थापनइतरमा दुई जनै उम्मेदवार बन्दाको स्थितिमा त देउवालाई अझै लाभ पुग्ने देखिन्छ । हार्ने चुनाव लड्न पाऊँ भन्दै अनुनय गरिरहे पनि शेखरले साथ दिने संकेत नपाएपछि थापा असन्तुष्ट छन् । सोमबार रातिसम्म आफ्नो पक्षमा जति सांसद उभिए पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

‘संसदीय दलको चुनाव लड्ने विषय आमजनताका बीचमा मुद्दा बनाइसकेको, यस्तै मुद्दाबाट आफू माथि उठेकाले पछि फर्कन ठाउँ छैन भन्ने गगनजीको कुरा छ, गगन उठ्दा संस्थापनइतर पक्षकै सबैको मत जाँदैन, शेरबहादुरजीलाई नै फाइदा हुन्छ भनेर शेखर दाइ आफैं हुन खोजिरहनुभएको छ,’ दुवै नेतालाई मिलाउने भूमिकामा रहेका एक नेताले भने, ‘आज सहमति भएन, भोलि (मंगलबार) बिहान उम्मेदवार मनोनयनअघि फेरि सहमतिको प्रयास गर्छौं, त्यसमा पनि सहमति हुन सकेन भने शेखर र गगनको बाटो अलग–अलग हुने अवस्था छ । यो भनेको संस्थानइतर पक्ष अझै कमजोर हुने मात्रै होइन, आगामी चार वर्ष पार्टी र राज्यसत्ताको शक्तिमा देउवाको प्रभाव अझै बढ्छ ।’

कांग्रेस नेता दीपकुमार उपाध्यायले देउवा आफैंले घोषणाबाट बाहिरिएमा बाहेक अहिले निर्वाचित भएर आएका सांसदहरूबाट नेतृत्व पुस्तान्तरण होला भन्ने अपेक्षा राख्न नसकिने बताए

Facebook Comments Box