उदयपुर/ उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
छ घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् । गम्भीर घाइते सार्कीको उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
ताप्ली गाउँपालिकाको रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाही लालबन्दीका ३० वर्षीय फणिन्द्र श्रेष्ठ घाइते भएका छन् । त्यसैगरी श्रेष्ठ परिवारकै भावना श्रेष्ठ, भवानी श्रेष्ठ र दुई वर्षीय भूमिका श्रेष्ठ घाइते भएका छन् । फणिन्द्रसहित श्रेष्ठ परिवारका चार घाइते भएका हुन् । श्रेष्ठ परिवार ताप्ली गाउँपालिका–२ रामपुर झिल्के ससुरालीबाट फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । त्यसैगरी ताप्ली–५ की २३ वर्षीय सुमित्रा गिरी र वडा नम्बर ४ का झपडबहादुर विश्वकर्मा घाइते भएका छन् ।