दमक/ दमक नगरपालिकाले सञ्चार माध्यमहरुलाई वितरण गर्दै आएको लोक कल्याणकारी सूचना वापतको रकम पारदर्शी र व्यवस्थित तवरबाट प्रदान गर्ने भएको छ ।
अघिल्ला बर्षहरुमा नगरपालिकाबाट अपारदर्शी र उपलब्धीहिन रुपमा सूचना/ सञ्चार वापतको रकम दमक बाहिर जाने गरेको भन्दै नगर भित्र रहेका र अन्य सञ्चार माध्यमहरुलाई पनि समानुपातिक र उपलब्धीपूर्ण कामको आधारमा उपलब्ध गराउने नगर प्रमुख राम थापाले बताए ।
सक्रिय पत्रकार सञ्जालको सक्रियतामा आज भएको छलफलमा नगर प्रमुख थापाले सञ्चारम माध्यम समाज रुपान्तरणका संबाहक भएको भन्दै नगरको बिकासका लागि यहाँ रहेका सञ्चारमाध्यमहरुको पनि महत्वपुर्ण योगदान रहने विश्वास व्यक्त गरे ।
उनले दुई दिन भित्रैमा नगरपालिकाले नगरमा अस्तित्वमा रहेका क्रियाशील सञ्चारमाध्यमहरुलाई नगरपालिकामा सूचीकरणका लागि आह्वान गर्ने पनि बताए ।
छलफलमा नगर उप प्रमुख रेगिना भट्टराईले आफुहरुले स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन र बिकासलाई प्राथमिकतामा राखिएको बताउँदै स्थानीय सरकारका सकारात्मक कामहरुको प्रचार प्रसारसंगै अनियमितता र गलत क्रियाकलापका विरुद्ध खबरदारी गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरिन ।
एनले नगरपालिकाबाट प्रबाह गरिने सुचना सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउने बिधि बनाउन केही समय लागेकाले तत्कालै सो सम्बन्धिको कार्य अघि बढाइने आश्वसन दिइन ।
छलफलमा पत्रकार महासंघ प्रदेश १ कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश कार्यसमिति सदस्य बिष्णु सुब्ब, सक्रिय पत्रकार सञ्जाका अध्यक्ष गिरिराज भट्टराई लगायतको सहभागिता थियो ।