दमक/ नेपाली कांग्रेसले समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यमा गरेको चयनप्रति असन्तुष्टी जनाउँदै दमकमा कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ताहरुले सडकमै निस्किएर ब्यंग्यात्मक विरोध गरेका छन ।
उनीहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र पार्टी नेता एवं गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको तस्बिरसहितको ब्यानर बनाएर ब्यंग्यात्मक विरोध गर्दै बधाई तथा शुभकामना व्यक्त गरे ।
सो क्रममा उनीहरुले राणा र खाँणको राजनीतिक भविष्य उज्वल होस भन्दै ब्यंग्यात्मक शैलीमा पार्टीले ५ लाख समानुपातिक मत ल्याउँदा सम्म पनि उहाँहरुको राजनीतिक भविष्य सुखद रहोस भन्ने कामना गरे । सो क्रममा नेता, कार्यकर्ताहरुले दिप प्रज्वलन समेत गरे ।
सो कार्यक्रममा पार्टीका पूर्व महासमिति सदस्य दिल बहादुर बुढथोकी र महाधिवेशन प्रतिनिधि डा. नेत्र बुढाथोकीले राणा र खाँण नेता पत्नी भएकै कारण सांसद बनेको भनि आलोचना गरे । उनीहरुले पार्टीमा नातावाद र फरियावाद बढेकोले नेतृत्वलाई सच्याउन दबाब दिदैं त्यस्तो कार्यक्रमम गर्नुपरेको तर्क गरे ।
झापा क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश नं १ का प्रदेश समिति सदस्य भुमिराज राई, महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौला, प्रदेश खका सभापति रवि केसी ,जिल्ला सदस्य शेरबहादुर श्रेष्ठ, पूर्व दमक नगर सभापति रोशन विष्ट लगायत करीब दुई दर्जन नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । पूर्व नगर सभापति विष्टले दमकबाट शुरु भएको यस किसिमको कार्यक्रम देशैभर चल्ने बताए ।
सो कार्यक्रम चलिरहेको समयमा ओहोरदोहोर गरिरहेका प्रत्यक्षदर्शीहरु भने कांग्रेसको रमिता भन्दै हिंडिरहेका थिए । कतिपय नेता, कार्यकर्ताहरु भने त्यहाँ पार्टीले आयोजना गरेको कार्यक्रम भन्ने खबर पाएकाले सहभागी हुन आएको प्रतिक्रिया दिइरहेका थिए ।
कांग्रेसले झापाको क्षेत्र नं ५ मा गएको प्रतिनिधि सभा निर्वाचनमा निक्कै लज्जास्पद मत प्राप्त गरेपछि अन्तर्घात भएको भन्दै कतिपय कांग्रेस कार्यकर्ताहरु भने चुनावी समिक्षामा ध्यान नदिई स्थानीय नेतृत्वले आलटाल गर्न खोजेको आरोप लगाइरहेका छन ।
