दमक/ निजी तथा आवासीय बिद्यालयहरुको संगठन (प्याब्सन) झापाले तय गरेको साँस्कृतिक कार्यक्रम अन्तर्गत दमक नगर समितिले आयोजना गरेको दुई दिवसीय नगरस्तरीय प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तर्गत गायन र नृत्य तथा साँस्कृतिक बिधामा प्रतिस्पर्धा भएको थियो । प्याव्सन दमक नगर सचिव नविन योगीका अनुसार आधुनिक नृत्य (कक्षा १–५) मा एभरेष्ट बोर्डिङ स्कूल पहिलो, सर्वोदय बोर्डिङ स्कूल दोश्रो र इष्टर्न स्टार तेस्रो भएका छन । त्यसैगरी राष्ट्रिय नृत्य तर्फ (कक्षा ५–८) मा एभरेष्ट बोर्डिङ , सर्वोदय र सनराइज मोडल तथा दमक आदर्श क्रमश पहिलो, दोश्रो र तेस्रो भए ।
त्यस्तै जुनियर गायन तर्फ इन्स्पायर इङलिस स्कूल, एभरेष्ट बोर्डिङ र ग्लोबल एजुकेशन एकाडेमी पहिलो, दोश्रो र तेस्रो भएका छन । त्यस्तै सिनियर गायन तर्फ रोजियट बोर्डिङ पहिलो, नेपाल जापान एकाडेमी दोश्रो र सनराइज मोडल स्कूल तेस्रो भएका जनाइएको छ ।
साँस्कृतिक नृत्य तर्फ सर्वोदय पहिलो, इन्स्पायर इङलिस बोर्डिङ दोश्रो र मदरल्याण्ड बोर्डिङ तेस्रो भएका आयोजकले जनाएको छ ।
त्यस्तै प्लस टु तर्फ ग्लोबल एकाडेमी उत्कृष्ट भएको छ ।
गत बिहिबार र शुक्रबार दमक २ स्थित सनराइज मोडल स्कूलमा सञ्चालन गरिएको सो कार्यक्रमको उदघाटन दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा र समापन कार्यक्रम नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । दुवै कार्यक्रमको अध्यक्षता प्याव्सन दमक नगर समिति अध्यक्ष जनार्दन मैनालीले गरेका थिए । ति दुवै कार्यक्रममा प्याव्सनका जिल्ला, प्रदेश र केन्द्रस्तरका नेतृत्व , विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्वहरु लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षासेवी खेमलाल पोखरेललाई सम्मान समेत गरिएको थियो ।
प्याव्सनले पालिकास्तरमा यस किसिमको प्रतियोगिता सञ्चालन गरि सबै पालिकाबाट छनौट भएका उत्कृष्ट बिद्यालयका बिद्यार्थीहरुबीच जिल्लास्तरको प्रतियोगिता सञ्चालन गर्नेछ । प्याब्सनको बार्षिक कार्यक्रम अनुसार पढाईका अतिरिक्त बिद्यार्थीहरुमा प्रतिभा प्रस्फुटन र बिकास गराउने उद्धेश्यले यस खाले कार्यक्रम गरिदैं आएको छ ।

