दमक/ दमकस्थित असहाय मानव सेवा समाजले लैंङिगक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा दमक ५ स्थित प्रगति टोलमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिहीबार आयोजित सो कार्यक्रमका वक्ताहरुले लैगिंक हिंसा अन्त्यका लागि समाजका सबै पक्ष उत्तिकै सक्रिय हुनुपर्ने औंल्याए । वक्ताहरुले लिंगका आधारमा गरिने विभेदपूर्ण व्यवहारनै लैंगिक हिंसा विजारोपणको कारक भएको पनि उल्लेख गरे ।

समाजलाई अपराध मुक्त नबनाई समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने भएकाले घर घरबाटै हिंसाका विरुद्ध जागरुक हुनुपर्नेमा उनीहरुको साझा निष्कर्ष थियो ।
असहाय मानव सेवा समाजकी अध्यक्ष चेतना निरौलाको अध्यक्षता र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा संस्थाका सदस्य कृष्ण भट्टराईले लैंगिक हिंसा विरुद्धको अभियानको इतिहासका बारेमा प्रष्टयाउँदै यसको औचित्य र आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरी र नेशनल प्रोग्राम सेन्टरका खेम अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले समाजमा हुने सबै खाले हिसांका घटना न्यूनिकरणमा समुदायको भुमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे । कार्यक्रममा दमक उद्योग वाणिज्य संघकी संघ संस्था समन्वय समिति संयोजक लक्की सिटौलाले महिलामाथिका हिंसाका घटनाको कारक महिला आफैं हुनु दुखद भएको भन्दै घर घरमा महिलाप्रति गरिने विभेदपूर्ण घटनामा महिलाहरु आफैंले प्रश्न उठाउन सक्नु पर्ने बताइन ।
उनले आर्थिक रुपमा महिलाहरु आत्मनिर्भर हुन सके पनि महिलामाथिको हिंसाका घटनामा कमि आउने दाबी गर्दै सिटौलाले त्यसका लागि महिलाहरु स्वरोजगार बन्न आवश्यक रहेको बताइन । सघन शहरी बिकास आयोजना इकाईकी इन्दु न्यौपानेले पनि महिलामाथिको हिंसाका घटना न्यूनिकरणका लागि समाज एकता बद्ध हुन आवश्यक रहेको बताइन । कार्यक्रममा कार्यपालिका सदस्य ख्यामकुमारी परियार लगायत जनप्रतिनिधि एवं सामाजिक अभियान्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आयोजक संस्थाकी सचिव पुनम रिजालले स्वागत मन्तव्य राखेकी थिइन भने उपाध्यक्ष सजु बुढाथोकीले सञ्चालन गरेकी थिइन ।
सो कार्यक्रममा सहभागी महिलाहरुलाई सचेतना स्वरुप सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

