दमक/ दमक ४ स्थित लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

संस्थाको कार्यालय परिसरमा आयोजित साधारण सभाको उदघाटन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले विश्वमा देखिएको आर्थिक तरलताको प्रभाव स्थानीय बजारमा समेत परेको बताइन ।

उपप्रमुख भट्टराईले स्थानीयस्तरमा वित्तिय क्षेत्रमा रहेका समस्याहरुको समाधानका लागि स्थानीय सरकारले नीतिगत पहल गरिरहेको पनि उल्लेख गरिन ।

अहिले एक किसिमको आर्थिक संकटनै देखिएकाले संकटको समाधान गर्न आआफनो ठाउँबाट सबैले योगदान गर्ने बेला आएको बताइन । सो अवसरमा सहकारी संस्थाले सञ्चालनमा ल्याएका विभिन्न बिधाका कार्यक्रमहरुमा सक्रिय सेयर सदस्यहरुलाई र संस्थामा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष बुद्धिलाल धिमालको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा संस्थाका बार्षिक प्रतिवेदन र लेखा संयोजक नम्बरलाल धिमाल लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । संस्थाकी व्यवस्थापक कमला विश्वकर्माले संस्थाको वित्तिय अवस्थाबारे जानकारी गराएकी थिइन ।

सभामा प्रस्तुत प्रतिवेदनहरु सुझावसहित सभाबाट पारित भएको संस्थाका सचिव मणिराज धिमालले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंक दमककी प्रवन्धक मुना केसी, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा लगायतले पनि सहकारी संस्थाका गतिबिधिहरुमा सेयर सदस्यहरुनै जिम्मेवार भएर लाग्नु पर्ने औंल्याए ।

कार्यक्रममा धिमाल जातीय बिकास केन्द्रका पूर्व अध्यक्ष एवं दमक ९ का पूर्व वडाध्यक्ष रामबहादुर धिमाल, सामाजिक व्यक्तित्व एवं संस्थाका पूर्व सल्लाहकार केन्द्र बहादुर प्रसाइँ, मोहन धिमाल, सेवा उपभोक्ता सहकारीकी व्यवस्थापक बन्दना सिम्खडा लगायतको पनि आतिथ्य रहेको थियो ।

Facebook Comments Box