दमक/ दमक नगरपालिकाले नगरमा रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रदान गर्ने अनुदान रकम अब प्रतिस्पर्धाका आधारमा दिने भएको छ । नगरपालिकाको क्षेत्राधिकारमा पर्ने माध्यमिक तह सम्मका बिद्यालयहरुलाई मापदण्ड अर्थात सूचकहरु तोकेर कार्य सम्पादन क्षमताका आधारमा बिद्यालयले प्राप्त हुने गर्ने प्राप्ताकंका आधारमा अनुदान रकम प्रदान गर्ने योजना अघि बढाएको हो ।


बिद्यालय लक्षित ति सूचक तथा मापदण्डहरुको कार्यान्वयनका बिषयमा नगरपालिकाले नगरस्थित सामुदायिक बिद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम समेत गरेको छ ।
सरकारको नीति अनुसार सामुदायिक बिद्यालय शिक्षा सुधार कार्यक्रमका लागि चालू आर्थिक बर्षमा नगरपालिकाले कूल १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम नगरमा रहेका सामुदायिक बिद्यालयहरुको गुणस्तरमा खर्चिइने नगर प्रमुख रामकुमार थापाले जानकारी दिए ।

बिद्यालय शिक्षा सुधार कार्यक्रमको मोडालिटी र यसको औचित्यबारे जानकारी गराउने उद्धेश्यले नगरपालिकाले आज बिहिबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख थापाले त्यस्तो जानकारी गराएका हुन ।  मापदण्ड पूरा गर्नका लागि आवश्यक भौतिक पूर्वाधार लगायत अन्य अभावहरुको समस्यालाई पनि कहिं न कंिह नगरपालिकाले सम्बोधन गर्ने उनको भनाई छ ।

उनले सबैले स्वार्थरहित ढंगबाट कार्यसम्पादन गरेको खण्डमा सामुदायिक बिद्यालयको गुणस्तर सुधार्न सकिने पनि बताए । नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको अध्यक्षतामा भएको सो अभिमुखिकरण कार्यक्रममा दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक डिल्लीराम भट्टराईले बिद्यालय शिक्षा सुधार कार्यक्रमको स्वरुप र यसको कार्यान्वयनका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरु ल्गायत शैक्षिक सरोकारवाला, जनप्रतिनिधिहरु ल्गायतको सहभागिता थियो । कार्यक्रममा कार्यपालिका सदस्य शारदा सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन डम्बर बरालले गरेका थिए ।

Facebook Comments Box