दमक/ लैङिगक हिंसा बिरुद्धको सोह्र दिने अभियान अन्तर्गत आज शुक्रबार दमक नगरपालिकाले सरोकारवालाहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले हिंसा अन्त्यका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एसोसिएसन झापाकी पूर्व अध्यक्ष यज्ञलक्ष्मी चौलागाईंले कानुनले मात्रै हिंसा अन्त्य नहुने भन्दै सामाजिक रुपमा पनि हिंसा निरुपणका लागि काम हुनु पर्ने बताइन ।
नेपालमा धेरै कानुन बनेका भए पनि त्यसको ब्यवहारिक पाटो कमजोर हुँदा हिंसाका घटनाहरुमा कमि आउन नसकेको उनको भनाई छ । पीडित व्यक्तिले न्याय पाउने प्रक्रिया झन्झटिलो हुँदा पनि हिंसाका घटनाहरु बढ्ने गरेको उनले बताइन ।
त्यस्तै ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले हिंसा भन्ने बित्तिकै महिलालाई मात्रै बुझिने गरेको पनि हिंसा न्युनिकरणमा समस्या आउने गरेको बताए ।
पुरुषहरु पनि हिंसामा पर्ने भन्दै उनले पीडित पुरुषहरु समाजको डरले हिंसा सहन बाध्य हुने गरेको बताए । महिलालाई मात्रै प्राथमिकतामा राखेर कार्यक्रमहरु हुने गरेको भन्दै त्यसले पुरुषलाई जोड्न नसक्दा हिंसाका घटनामा कमि आउन नसकेको उनको धारणा छ ।
कार्यक्रममा प्राध्यापक डम्बरकुमारी अधिकारीले समाजिक कारणले पनि कतिपयले हिंसा सहने गरेको बताइन । व्यक्तिको सामाजिक हैसियतले पनि हिंसा सहन बाध्य हुनु परेका घटनाहरु रहेको उनको भनाई छ । हिंसा समाजको कलंक हो भन्ने बुझाउन सके पनि यस्ता घटनामा कमि आउनेमा उनले जोड दिइन ।

Facebook Comments Box