
दमक/ दमक जेसीजले बर्षेनी सञ्चालन गर्दै आएको जेसीज सप्ताहलाई यस बर्ष पनि निरन्तरता दिएको छ । जेसीजले सप्ताह अन्तर्गत विविध सामाजिक तथा जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिएको हो ।
सप्ताहको दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले बिहिबार औपचारिक कार्यक्रमका बीच उदघाटन गरेकी छन । नगरपालिका परिसरमा आयोजित सप्ताहको उदघाटन कार्यक्रमको सभापतित्व दमक जेसीज बर्ष २०२२ का अध्यक्ष सञ्जिब बरालले गरेका थिए ।
जेसीजले सन्दिप न्यौपानेको संयोजकत्वमा मूल समारोह समितिसंगै विभिन्न उपसमितिहरु गठन गरेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अनुसार बिहिबार एकैदिन तीन महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका हुन ।

जस अन्तर्गत उदघाटनपछि नगरपालिका कार्यालय परिसरबाट दमक १० स्थित इन्द्रेणी ताल सम्म सचेतना स्वरुप साइक्लिङ सञ्चालन गरिएको थियो । साइक्लिङमा करिब ५० जना युवाहरु सहभागी भएका थिए । एचाआइभी रोकथाम तथा नियन्त्रणमा चेतना जगाउँदै स्वास्थ्य र वातावरण संरक्षणसंगै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि त्यस्तो कार्यक्रम सञ्चालन गरिएको दमक जेसीजका अध्यक्ष सञ्जिब बरालले जानकारी दिए । सोपछि दमक ८ स्थित संस्थाको निर्माणाधिन भवन परिसरमा दाँत तथा आँखा परिक्षण शिविर सञ्चालन गरिएको थियो ।
सो शिविरमा त्यस क्षेत्रका करिब २०० जनाले प्रत्यक्ष सेवा लिएका जनाइएको छ । शिविरमा जोब्रा डेन्टल र पाथीभरा नेत्रालयको प्राविधिक सहयोग रहेको थियो । त्यसैगरी जेसीजले दमकमा रहेका सहकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई लक्षित गर्दै स्वास्थ्य चेतना जगाउने उद्धेश्यले फिजियोथेरापी र मानसिक स्वास्थ्यका बिषयमा केन्द्रित भएर सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो कार्यक्रमको संयोजक रुवल अधिकारी, दोश्रो कार्यक्रमको संयोजक सरोज ढकाल र तेस्रो कार्यक्रमको संयोजक विनोद भट्टराई रहेका थिए भने मानसिक स्वास्थ्य सम्बन्धिको सचेतनामा गोविन्द कट्टेलले सहजीकरण गरेका थिए । उदघाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
