दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको भवन छेउ हुँदै उत्तर तर्फ रतुवा खोलाको कटानग्रस्त क्षेत्रमा कटान न्यूनिकरणका लागि एशियाली बिकास बैंकको ऋण सहायतामा तटबन्धन हुने भएको छ ।
राजमार्गबाट उत्तर तर्फ रतुवा खोलाले गरिरहेको कटानलाई न्युनिकरण गर्नको लागि सो तटबन्धन हुने निश्चित भएको सो योजनाका जानकार तथा अगुवाई गरेका माओवादी केन्द्र एक नम्बर प्रदेश कमिटी कोषाध्यक्ष समेत रहेका गगन पुरीले जानकारी दिए ।
स्थानीयको माग बमोजिम त्यहाँको करिब ३५० मिटर लम्बाई तटबन्धनको लागि ठेक्का आव्हान भएको जानकारीसहित उनले पहिलो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन । यो कार्यका लागि सडक बिभाग ललितपुरबाट बोलपत्र भै मूल्याकंनको काम भइरहेको पुरीले जानकारी दिए ।
स्थानीयको माग अनुसार सो योजनामा सडक बिभागका महानिर्देशक अर्जुन थापा, दमक सडक डिभिजनका तत्कालिन प्रमुख रमेश पौडेल र आयोजना निर्देशक सुशीलबाबू ढकालको विशेष भुमिका रहेको जनाउँदै पुरीले सामाजिक सञ्जालमार्फतनै सरोकारवाला तथा नियमनकारी निकायप्रति धन्यवाद समेत व्यक्त गरेका छन ।
यो योजना समयमै सम्पन्न हुनसके दमकको पशुहाट आसपासको क्षेत्रमा बर्षेनी हुने रतुवा खोलको कटान र डुवानको समस्या समाधान हुनेमा स्थानीयहरु आशावादी छन ।