दमक/ कांग्रेससँगको गठबन्धनले माओवादीका धेरै उम्मेद्वारहरुले जित्न नसकेपछि र एमालेले समेत अप्रत्यासित हार ब्यहोरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डका बीचमा टेलिफोन कुराकानी भएको छ । प्रचण्डलाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेका बताइएको छ ।
बिहीबार दिउँसो ओली र प्रचण्डबीच टेलिफोन कुराकानी भएको दुवै अध्यक्षका सचिवालयले जनाएका छन् ।
कांग्रेससँगको गठबन्धनले माओवादीका केही उम्मेदवार पराजित भएपछि प्रचण्ड केही असन्तुष्ट देखिएका छन् । कांग्रेसले इमान्दार भएर भोट नहाल्दा माओवादी उम्मेद्वार रहेका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विजयी भएका छन् ।
मुख्य गरी काठमाडौँमा धेरै कम्युनिष्ट उम्मेद्वार पराजित भएका छन् । स्वयंम माओवादी नेताहरुले पनि कांग्रेससँगको गठबन्धन एमालेजति फलदायी हुन नसकेको टिप्पणी गरिरहेका छन् । यस्तो बेलामा यसपटकको चुनावको सबै मतपरिणाम नआउँदै ओली प्रचण्डलाई फकाउन हतारिएका छन् ।
अहिलेका परिणामले एमाले सरकार बनाउनै नसक्ने अवस्थामा पुगेको छ । माओवादी पनि निकै कमजोर अवस्थामा पुगेको छ ।
पछिल्लो मतपरिणाम अनुसार पहिलो स्थानमा रहेको कांग्रेसले ३२ सिट जितेको छ भने एमालेले २० सिट मात्रै जितेको छ । यस्तै माओवादीले अहिलेसम्म ९ सिट जित्दा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ७ सिट जितेको छ । यस्तै ६ महिना अघि मात्रै दर्ता भएर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेसम्म ७ सिट जितेको छ । खबर हबबाट