दमक/ ४ मंसिरमा सम्पन्न झापाका पाँच वटै निर्वाचन क्षेत्रको मत परिणाम बिहिबार आज सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ शीर्ष नेताहरुले प्रतिस्पर्धा गरेको झापाका ५ निर्वाचन क्षेत्र मध्ये तीन वटामा नेकपा एमाले र एक / एक वटा क्षेत्रमा कांग्रेस र राप्रपाका उम्मेदवार विजयी भएका छन ।
झापाको १ नम्बर निर्वाचन क्षेत्रमा एमाले नेता एवं पूर्व मन्त्री अग्नी खरेललाई हराउँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी भए । शर्माले ३९ हजार ६२४ मत ल्याएर खरेललाई १४ हजार बढी मतान्तरले पराजित गरेका हुन । खरेलले २५ हजार ३४९ मत पाएका छन ।
शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत प्रतिस्पर्धामा रहेको झापालाई क्लिन स्वीप गर्ने एमाले र राप्रपाको संयुक्त प्रयासमा ब्रेक लगाइदिएका छन भने कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पराजित हुन पुगेका छन ।
सिटौला एमाले र राप्रपाको समिकरणबाट उम्मेदवार रहेका राप्रपा अध्यक्ष समेत रहेका राजेन्द्र लिङदेनसंग पराजित भएका हुन । सिटौला र लिङदेन क्षेत्र नं ३ मा निर्वाचन लडेका थिए । लिङ्देनले ४०,६४८ मत ल्याएर जित हासिल गरेका हुन भने सिटौलाले ३७,३७२ मत पाएका छन ।
क्षेत्र नं २ मा वाम लोकतान्त्रिक गठबन्धनका हरि राना एमालेका केन्द्रीय नेता देवराज घिमिरे सामु प्रतिस्पर्धामा आउनै सकेनन । एमालेबाट विद्रोह गरेर सत्तारुढ गठबन्धनको समर्थनमा माओवादीबाट उम्मेदवारी दिएका राना प्रतिस्पर्धामा आउन नसक्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले घिमिरेलाई टक्कर दिए पनि अन्तिम सम्म टिक्न सकेनन । सो क्षेत्रमा घिमिरेले २८,६९७ मत ल्याएर जित निकाल्दा नेपालले २६,४४१ र रानाले १३९२४ मत प्राप्त गरे ।
क्षेत्र नं ४ मा एमालेका अर्का प्रभावशाली नेता लालप्रसाद साँवाले कांग्रेस झापाका सभापति समेत रहेका देउकुमार थेवेलाई दोश्रो पटक पराजित गरेर आफनो राजनीतिक उचाईलाई बढाएका छन । साँवाले ६ हजार ८६७ मतान्तरले थेवेलाई पराजित गरेका हुन । साँवाले २९३१५ मत प्राप्त गर्दा थेवेले २२ हजार ४४८ मत पाएका छन ।
क्षेत्र नं ५ मा भने कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली ५२३१९ मतसहित संसदमा छैठौं पटक निर्वाचित भए । अघिल्लो पटक २८ हजार मत पाएका डा. अधिकारीले यसपटक २३,७४३ मतमै चित्त बुझाउनु पर्यो ।

Facebook Comments Box