दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा उनी छैटौं पटक निर्वाचित भएका हुन् । बुधबार सम्पन्न मत गणनामा ओलीले ५२ हजार ३१५ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३७४१ मत मात्र पाए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई ५७ हजार १३९ मत ल्याएर पराजित गरेका थिए । यसपटक उनले करीब ५ हजार हाराहारी मत कम पाएका छन । २०७४ मा माओवादी केन्द्र र राप्रपा समेतको समर्थन पाएका उनले यसपटक भने राप्रपाको समर्थन पाएका थिए । माओवादी भने कांग्रेस नेतृत्वको गठबन्धनमा छ ।
ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।
ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ ।
१ लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।