दमक/ ४ मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारको समय सीमा सकिन लाग्दा झापामा केही स्वतन्त्र उम्मेदवारहरुका बिषयमा चर्चा चुलिएको छ ।
उम्मेदवारी दर्तापछि चुनाव प्रचारको दौडमा निस्किएका यी क्षेत्रका एक दर्जन बढी स्वतन्त्र उम्मेदवारहरु मध्ये चार जना उम्मेदवार सामाजिक सञ्जाल र प्रत्यक्ष रुपमै चुनाव प्रचार प्रसारमा निक्कै आक्रामक देखिएका छन । उनीहरुले उम्मेदवारका रुपमा आआफनो क्षेत्रमा उभिएर मतका लागि आव्हान गर्ने क्रममा केही खास महत्वपूर्ण राष्ट्रिय र स्थानीय बिकास निर्माणका साथै जनजिविकाको सवाललाई प्राथमिकतापूर्वक उठान पनि गरिरहेका छन । सम्बन्धित क्षेत्रका उल्लेख्य मतदाताले उनीहरुलाई प्रमुख दलहरुको बिकल्पमा बैकल्पिक मत प्रकट गर्न सक्ने सम्भावना पनि बढदो छ । प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका दलीय गठबन्धनका उम्मेदवारहरुले गत बैशाखमा आआफना पार्टी र समुहले पाएको मतलाई आधार बनाएर जितको दाबी गर्दै आएपनि स्थानीय तहको निर्वाचनको परिणामले समेत स्वतन्त्र उम्मेदवारहरुलाई पनि प्रतिस्पर्धीका रुपमा उभ्याउन मद्धत गरेको देखिन्छ ।
झापा ३ मा गिरी निर्णायक
झापाको निर्वाचन क्षेत्र नं ३ लाई अहिले राष्ट्रिय राजनीतिमै निक्कै महत्वको क्षेत्रका रुपमा हेरिएको छ । यो क्षेत्रमा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी समेतको समर्थनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेको समर्थनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन मैदानमा उत्रिरहँदा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता डम्बर बहादुर गिरी निर्णायक शक्तिका रुपमा देखिएका छन । राप्रपासंग एमालेले गरेको तालमेलप्रति असन्तुष्टि जनाउँदै एमालेको मत सुरक्षित गरेर स्वतन्त्र मत समेत लिएर चुनाव जित्ने उदघोषसहित उत्रिएका गिरी स्थानीयस्तरमा लोकप्रिय र मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा सशक्त भुमिका निर्वाह गरेबाट पनि उनले एमालेको मतलाई आकर्षित गर्ने देखिन्छ । एमालेको मत र युवा बिद्यार्थीलाई आकर्षित गरेर उनले सो क्षेत्रमा लिङदेनलाई बलियो धक्का लगाउन सक्ने क्षेत्रबासी मत विश्लेषकहरुको आंकलन छ ।
झापा ४ मा खुश्बु र नन्दराज

नेकपा एमाले र राप्रपाको समिकरणमा उम्मेदवारी दिएका एलपी साँवा यो क्षेत्रको मतदाताका लागि पुरानै अनुहार हुन । विगतका दुई निर्वाचनमा लगातार चुनाव लडेका उनी पहिलो पटक झापामा कांग्रेसका प्रभावशाली केशवकुमार बुढाथोकीसंग पराजित भए पनि दोश्रो पटक बुढाथोकीका अनुयायी मानिने कांग्रेस झापाका तत्कालिन उपसभापति तथा वर्तमान सभापति देउकुमार थेवेलाई पराजित गर्दै संसदमा प्रवेश पाएका नेता हुन । साँवा तेस्रो पटक र थेवे दोश्रो पटक पुन यो क्षेत्रमा आम्ने साम्ने भएका बेला यि दुवै शक्तिशाली उम्मेदवारलाई चुनौती दिदैं सामाजिक अभियान्ताको पहिचान बनाएकी सक्रिय युवा नेतृ खुश्बु ओली , शैक्षिक तथा सामाजिक अभियान्ता समेत रहेका झिलझिलेका नन्दराज राई लगायत स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा सशक्त रुपमा उत्रिएर चर्चामा आएका छन ।
ओली सुरुङगाका स्थायीबासिन्दा हुन भने अध्ययन र आफनो व्यवसायिक यात्राका सिलसिलामा उनी काठमाडौं र विदेशमा समेत बसेर आएकी हुन । उनले सो क्षेत्रका बासिन्दाहरुले अधिक रुपमा भोग्दै आएको कृषि सम्बन्धिको समस्या, जग्गा धनीपूर्जाको समस्या, खोला नदी तटबन्धनको समस्या आदीलाई प्रमुख एजेण्डा बनाउँदै युवा तथा महिलाहरुलाई आर्थिक , सामाजिक सशक्तिकरणमा जोडने उदघोष गरेर चुनावी अभियानलाई अन्तिम मोडमा पुरयाएकी छिन ।
स्वतन्त्र उम्मेदवार राई भने सो ठाउँमा शैक्षिक संस्था स्थापना गरेर , सामाजिक अभियानमा समेत जोडिएका छन । उनले आफनो मुल एजेण्डाका रुपमा नेपालको राष्ट्रियता, यहाँको खोला नदीको समस्या र प्राविधिक तथा व्यवसायिक शिक्षालाई अघि सारिरहेका छन ।
झापा २ मा नेपालको चर्चा
उता जिल्लाको निर्वाचन क्षेत्र नं २ मा रहेका धेरै स्वतन्त्र उम्मेदवारहरु मध्ये स्वागत नेपालको चर्चा अलग किसिमको छ । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख हरी राना र एमाले भित्र पार्टी अध्यक्ष केपी ओलीका भित्रिया र प्रभावशाली नेता मानिने देवराज घिमिरेलाई चुनौती दिदैं नेपालले जारी राखेको चुनावी अभियानमा स्थानीय क्षेत्रबासीहरुको आकर्षण निक्कै देखिन्छ ।