दमक/ गृह जिल्ला झापामा चुनाव लक्षित कार्यक्रममा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध दलित समुदाय संगठित नेपाल उत्पीडित जातीय मुक्ति समाजसंग अन्तरसंवाद गरेका छन । पूर्व निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो गरी कार्यक्रमस्थलमा आइपुगेका ओलीले सहभागी दलित प्रतिनिधिहरुलाई दलित समुदायका क्षेत्रमा एमालेले गरेका कामहरुको स्मरण गराए । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष ओलीले जातीय बिभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाटमात्र हुने तर्क गरे ।
समाजले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम नाम दिइएको सो कार्यक्रमलाई सम्बोधन गर्दै भने–आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन । त्यसले अन्य ज्ञान सीप र क्षमतालाई निस्कृय बनाएर लान्छ । आरक्षणले एउटा निश्चित ब्यक्ति समुदाय भित्रका पनि केही ब्यक्तिलाई मात्र अवसर दिन्छ । तर आम आरक्षणमा पर्नु पर्ने मानिस यसबाट बन्चित भएको नेपालमा नै धेरै उदाहरण भएको बताउँदै यसको अन्त्य हुनु पर्ने बताए ।
लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि व्यवस्था गरिएको आरक्षण अब लामो समय जानु नहुने उनको भनाई थियो । उनले हरेक समुदायलाई आरक्षण भएर समान हक, अधिकारसहितको अवसर दिनुपर्ने बताए ।
नेपालमा संबिधान कानुनमा बिभेद हटेको बर्षैा भए पनि मानिसको चेतना र व्यवहारमा बाँकी रहेको उनको भनाई छ । सबै शिक्षाले यसको बिभेदलाई हटाउन सकिने उनको तर्क थियो । देशमा भएको जातीय बिभेद बिरुद्ध संगठित रुपमा नेकपा एमालेले उठाउदै आएकाले अब राज्यतह बाटै बिभेद उन्मुलनको योजना अघि बढाईने अध्यक्ष ओलीले बताए ।
कार्यक्रममा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जितु गौतम, समाजका केन्द्रिय सचिव सोमनाथ पोर्तेलले दलित समुदायले भोग्नु परिरहेका समस्याहरुको स्मरण गराए । उनले सतिप्रथा हटिसकेपछि नेपालमा सबैभन्दा धेरै अमानवीय र विभेदको शिकार दलित समुदाय हुनुपरिरहेको छ । राज्यका हरेक निकायमा दलितहरुलाई अग्राधिकारको आवश्यक रहेको औंल्याए । उनले राज्यका हरेक निकायमा अग्राधिकारको कानुनी रुपमै व्यवस्था गरिनुपर्ने बताए । दलित कर्मचारीहरुको क्षमता बिकासका कार्यक्रमहरु पनि अघि सारिनुपर्ने माग गरे ।
कार्यक्रममा झापासहित प्रदेश एकका विभिन्न जिल्लाबाट करिब ५ सय प्रतिनिधिहरु सहभागी भएका दलित उत्पीडित मुक्ति समाज झापाका अध्यक्ष काँशी खातीले जानकारी दिए ।
