दमक/ बैंकहरुले मनोमानी ढंगले लगानी रकममा व्याजदर बृद्धि गरेको विरोधमा झापाका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेश समितिको आव्हानमा आन्दोलनरत दमक उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम अन्तर्गत मंगलबार इलाका प्रशासन कार्यालय दमक मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले ज्ञापन पत्र बुझाउँदै बैंकहरुले लगानी रकममा गरेको मनोमानी ब्याज बृद्धिको निर्णय तत्काल फिर्ता लिनुपर्ने अन्यथा निजी क्षेत्र सडकमा आउने चेतावनी दिइएको छ । संघले आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार दमक चोकमा मौन विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खडकाले जानकारी दिए ।
त्यसैगरी झापाको सदरमुकाम भद्रपुरस्थित विद्युत प्राधिकरण छेउबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीले प्रशासन परिसरिमै कोणसभा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी–व्यवसायीले ज्ञापनपत्रका बिषयमा गम्भीर भएर समस्याको समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए ।
झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ, नेपाल भेनिरयसर उत्पादक संघ, प्रोपर्टी डिलर्स एशोसिएशन झापा, महिला उद्यमी संघ झापालगायतका संस्थाले एउटै व्यवहोराको छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।
महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, अग्रज उद्योगी चण्डीप्रसाद पराजुलीलगायतले पछिल्लो समय बैंकहरुले ऋण लगानीमा मनोमानी ढंगले ब्याज बढाएर लाखौं उद्योगी–व्यवसायीलाई सडकमा धकेलेको बताए ।
पर्याप्त तरलता रहेका बेला घर–घरमा धाएर ऋण खान उकासेको बैंकहरुले अहिले विभिन्न बहानामा ऋणमा दोब्बर व्याजदर थोपरेर उद्योगी–व्यवसायीलाई अप्ठ्यारोमा पारेको, बैंकहरुले जबरस्ती ऋण असुल्न खोजेको, धम्कीपूर्ण व्यवहार गरेको जस्ता गुनासो उद्योगी–व्यवसायीहरुको छ ।
उद्योग–व्यवसायजन्य संघ–संःथाहरुले सम्बन्धित बैंकहरुमा बुधबार ज्ञापनपत्र बुझाउने र सो दिन बैंकहरुसँग कुनै पनि प्रकारको कारोबार नगर्ने विरोधको कार्यक्रम रहेको प्रदेश अध्यक्ष ढकालले जानकारी दिए ।

Facebook Comments Box