दमक/ दमकमा महिलाको प्रजनन स्वास्थ्य र पाठेघर सम्बन्धिको सेवा दिने उद्धेश्यले सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।
नेपाल परिवार नियोजन संघको सञ्चालनमा रहने सो क्लिनिक आज शनिबारदेखि सुरु भएको हो । दमक वडा नम्बर ४ मा साविकको वडा कार्यालय रहेको भवनमा क्लिनिक सञ्चालन गरिएको हो ।
परिवार नियोजन संघका केन्द्रिय अध्यक्ष हिमालयलाल कसजु र दमक नगरपालीकाका प्रमुख राम थापाले संयुक्त रुपमा सो क्लिनिकको शुभारम्भ गरे । क्लिनिको सुभारम्भ गर्दै नगर प्रमुख थापाले यस क्षेत्रका महिलाहरुको प्रजनन स्वास्थ्यका क्षेत्रमा विशेष सेवा दिन क्लिनिक सञ्चालन गरिएको बताए । महिला स्वस्थ भए परिवार र समाजनै स्वथ हुने बताउँदै उनले क्लिनिकबाट बढि भन्दा बढि सेवा लिन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरे । त्यसैगरी परिवार नियोजन संघका केन्द्रिय अध्यक्ष कसजुले दमकमा सञ्चालन गरिएको क्लिनिक नमुना रहेको भन्दै क्लिनिक सञ्चालनमा सहयोगको लागि दमक नगरपालिकाको प्रशंसा गरे ।
क्लिनिकमा बिषेशज्ञ चिकित्सक सहित प्रजनन स्वास्थ्यको उपचार गरिने दमक नगर उपप्रमुख रेगिना भट्टराईले बताइन । प्रजनन स्वास्थ्यको चेतना नहुँदा महिलाहरुमा धेरै समस्या भइरहेको भन्दै उनले तत्कालै समस्या पहिचान गरी निदान गर्नका लागि क्लिनिक उपयोगी हुने विश्वास व्यक्त गरिन ।
झापा जिल्लाको माईपश्चिम क्षेत्रलाई सेवा दिने गरी दमकमा सो क्लिनिक सञ्चलन गरिएको नेपाल परिवार नियोजन संघ झाप जिल्ला सभापति लोकनाथ भट्टराईले जानकारी दिए ।
