दमक/ ४ मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापाको क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार कमल पौडेलले फरक ढंगबाट चुनाव प्रचार प्रसारलाई अघि बढाएका छन । शिवसताक्षी नगरपालिका वडा नं ८ बुद्धचोकका स्थायीबासिन्दा युवा उम्मेदवार पौडेलले आफनो उम्मेदवारी क्षेत्रको बिकास र राष्ट्रिय समस्याहरुको निकासका लागि भएको बताउँदै आएका छन ।
आफना चुनावी एजेण्डाहरु मतदाताका घरघरमा पुरयाउने अभियानमा लागिरहेका पौडेलले क्षेत्र नं ४ को दक्षिण पश्चिम सीमावर्ती भुगोल गौरीगञ्ज १ को महाभारा, वडा नं २ अर्थात साविक कोरोबारी, कन्काई नगरपालिका, झापा गाउँपालिकाका विभिन्न वडाहरुमा पुगिसकेको बताएका छन । आफनो बसोबासो रहेको कर्मथलो शिवसताक्षीमा पनि चुनाव प्रचार प्रसारलाई अघि बढाउने तयारीमा रहेका उनले सबै मतदातासंग प्रत्यक्ष पुग्ने प्रयास भएपनि समय अभावका कारण कतिपय मतदातालाई सञ्चार माध्यममार्फतनै मतको लागि आव्हान गरेको बताएका छन । उनले सो क्षेत्रका सबै घर घरमा शुद्ध पिउने पानीको निशुल्क व्यवस्था गर्ने कामलाई प्रमुख एजेण्डा बनाएका छन । उम्मेदवार पौडेलले भने– यो क्षेत्रबाट सीपि, आरके, तारासम देखि एलपी सम्मलाई हामीले चुनेर संसदमा पठायौं, पार्टीबाट चुनिएकाहरु पार्टी काममै लागे । जनताको समस्यालाई बुझने र सम्बोधन गर्नेमा लागेनन त्यसकारण मैंले गर्न सक्ने कामहरुलाई मात्रै घोषणा पत्रमा समेटेको छु ।
खानेपानीसंगै उनले रोजगारमुखी व्यवसायिक निशुल्क माध्यमिक शिक्षा, स्थानीयस्तरमानै विशेषज्ञ डाक्टरसहितको निशुल्क स्वास्थ्य सेवा एवं औषधीको व्यवस्था, किसानका लागि मल र बिउ भण्डारण केन्द्र स्थापना गर्ने, कन्काई, कमल र विरिङ नदीको दिगो र भरपर्दो तटबन्धन तथा आवश्यकताका आधारमा बाटो, विजुली र पूलको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन ।
ताप्लेजुङदेखि मणिपुर हुँदै डुँडामारी सम्म
ताप्लेजुङको तत्कालिन तेजाङ हालको श्रीजंगा गाउँपालिकामा बुबा लोकनाथ आमा तुलसीदेवीको जेठो सुपुत्रका रुपमा २०२१ सालमा जन्मिएका कमल पौडेलले शिक्षा भने मणिपुरमा लिएका हुन । उनले त्यहाँ राजनीति शास्त्रमा स्नाकोत्तर हासिल गरेको बताएका छन । शिवसताक्षीमा सैनिक बाल शिक्षा सेकेण्ड्री स्कूल स्थापना गरेका उनले त्यहाँ लामो समय शिक्षणपछि हाल मेरी मन्टेश्वरी सञ्चालन गर्दै आएका छन । उनले छोटो समय महेन्द्र प्यूरीफाई नामक खानेपानी सम्बद्ध कम्पनीमा समेत काम गरेका छन ।
