दमक/  झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वार रामचन्द्र बानियाँले २०४७ सालपछि बैबाहिक अंगिकृत र जन्मका आधारमा जारी गरिएका नेपाली नागरिकता खारेजीसहित राष्ट्रियताका मुद्धाहरुलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन ।
पुराना दलहरुले नागरिकता वितरणका माध्यमबाट राष्ट्रियतानै जोखिममा पारेको आरोप लगाउँदै आफनो प्रमुख चुनावी एजेण्डानै नागरिकताको बिषय भएको उनको भनाई छ । खुल्ला चुनाव प्रचार प्रसारका लागि निस्किनु अघि बिहिबार दमकमा पत्रकारहरुसंगको भेटघाटमा बाँनियाले देशव्यापी रुपमा देशभक्त नागरिक समाज नेपालले यहि अभियान सञ्चालन गरिरहेको पनि जनाए ।

सो अभियानको अभियन्ता समेत रहेको बताएका बानियाँले कतिपय मुलबासीले समेत अहिले सम्म सहज नागरिकता नपाएको भन्दै राष्ट्रिय परिचयपत्रको नाममा मुलुकलाई फिजिकरण गर्न खोजिएको आरोप लगाए । राष्ट्रिय परिचयपत्र वितरण गर्दा नेपालमा मुलबासीको बाहुल्यतानै संकटमा पर्ने भएकोले यो खारेजीको एजेण्डा आफुहरुले अघि सारेको उनको तर्क छ ।
पत्रकार सम्मेलनमा देशभक्त नागरिक समाजका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद चुडालले दलहरुले नेपाली भाषा, पोशाक, धर्म, संस्कृतिलाई मास्न लागेकोले अभियान सञ्चालन गर्नु परेको बताए । अभियानका तर्फबाट झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा बानियाँको स्वतन्त्र उम्मेद्वारी रहेको जनाइयो । उनको चुनाव चिन्ह दिशा निर्देश गरेको ट्राफिक प्रहरी भएको बताइएको छ ।

Facebook Comments Box