दमक/ मसिंर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेक उद्धेश्य राखेर उम्मेदवारहरु चुनावी मैदानमा छन । कोही आफनो जितप्रति आफैं ढुक्क नभएका उम्मेदवार पनि चुनावी दौरानमा भेटिने गरेका छन ।
चुनावमा औपचारिकताका लागि उम्मेदवारी दिने र पार्टीबाट र सहयोगी , शुभेच्छुक दाताहरुबाट आर्थिक संकलन गर्ने मात्रै उद्धेश्य राख्ने उम्मेदवारको पनि कमि छैन ।
कतिपय भिआइपी अर्थात पार्टीका शीर्ष नेताहरुसंग आफनो नाम जोडेर चुनाव प्रचार गर्न पाउँदा मख्ख हुने उम्मेदवार पनि छन यसपालीको चुनावमा । आफू उम्मेदवार भएपछि उम्मेदवारका हैसियतले आयोगबाट चुनावी दौरानमा सवारी साधन तथा अन्य साधन स्रोतहरुको प्रयोगको अनुमति लिएर अर्काे आफनै प्रतिस्पर्धी उम्मेदवारलाई प्रयोग गर्न दिने पुरानै अभ्यास हो ।
त्यस्ता देखावटी रुपमा मात्रै बनेका उम्मेदवारलाई डमी उम्मेदवार भन्ने चलन छ । चुनावमा चर्चामा आउन सामाजिक सञ्जाल मार्फत समाजमा परिचित हुन सहजताका लागि पनि उम्मेदवार बन्नेहरुको कमि छैन ।
यस्तै मध्ये चर्चा कमाउनकै लागि उम्मेदवारले आफैं काल्पनिक घटना बनाएर प्रहरीलाई हैरानी दिने सम्मको अभ्यास यो चुनावको सिलसिलामा देखिएको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेलसंग प्रतिस्पर्धा गर्न भन्दै उम्मेदवारी दिएका गणेश पौडेलले आफैँले घरमा नक्कली बम राखेको आशंका प्रहरीले गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार पौडेलमाथि प्रहरीले यस्तो शंका गर्दै उनीमाथि अनुसन्धान थालेको छ ।
आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गरेका थिए ।
तर, नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्न खोज्दा उक्त वस्तु बम नभएको र खाली प्रेस कुकर मात्र भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले बताए ।
सो शंकास्पद वस्तु पौडेल आफैँले राखेको वा राख्न लगाएको आशंकापछि पौडेल नै प्रहरीको अनुसन्धानको घेरामा परेका हुन् । शंकास्पद वस्तु राखियो भनेर प्रायोजित प्रचार गरेर चर्चा कमाउन खोजेको हामीलाई फिल भएको छ,ु इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी केसीले भने, हामी उहाँ (गणेश पौडेल) को कल डिटेल, मुभमेन्ट सबै अनुसन्धान गरिरहेका छौं ।
रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्दै केही दिनअघि पत्रकार सम्मेलन समेत गरेका थिए । तर, त्यसको भोलिपल्ट सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । रुपन्देही–२ मा नेकपा एमालेबाट पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् ।
पौडेलले भने आफू बिहान घर बाहिर निस्कंदा कार्टुनमा शंकास्पद वस्तु र कागजमा खतरा लेखिएको देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेको बताए ।
https://www.nishkarshanews.com/wp-content/uploads/2022/10/ganes-paudel.webp