काठमाडौं/ भारतबाट जी टू जी अन्तर्गत खरिद प्रक्रियाको रासायनिक मल नेपाल ल्याइने निश्चित भएको छ । सम्झौता अनुसार पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रति मेट्रिकटनमा मल खरिद भएको कम्पनीले जनाएको छ । भारतबाट आएको उक्त मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले नै ढुवानी गर्ने छ ।
वि.स. २०७८ सालको फागुनमा नेपाल र भारतबीच नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म खरिदका लागि जीटूजी सम्झौता भएको थियो । जसअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ ।
यस्तै, चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौताअनुसार खरिद गर्ने जनाइएको छ