दमक/ जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला ९ महिनामा भन्सार छलीका ३ करोड मुल्य बराबरको सामान बरामद गरेर भन्सारमा बुझाएको छ ।
दिपावली र छठ पर्वको उपलक्ष्यमा आइतबार पत्रकारहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम गरी झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले २८ पुषमा आफूले जिल्लामा कार्यभार सम्हाले यता गएको असोज मसान्त सम्ममा हासिल गरेका उपलब्धीहरुको बारेमा जानकारी दिएका हुन ।

तस्करी नियन्त्रण अन्तर्गत गत असोज मसान्त भित्र अवैध रुपमा भन्सार छलीमा प्रयोग गरिएका ९ वटा चारपाङ्ग्रे सवारी साधन, ९ जना मानिससहित विविध सामग्रीहरु बराम गरिएको कार्यक्रममा जानकारी दिइयो । त्यस्तै सोही अवधिमा नदिजन्य पदार्थको अबैध उत्खनन तथा ओसारपोसार नियन्त्रण स्वरुप ६४ वटा सवारी साधनहरु नियन्त्रणमा लिएर १४ लाख ३० हजार बराबरको जरिवाना असुल गरिएको, वन तथा वन पैदावरको अवैध कारोवार नियन्त्रणका लागि ९ जनासहित १५ वटा सवारी साधन, ७८४ क्यु.फिट काठहरु बरामद गरि २७ लाख ४० हजार रुपैयाँ बराबरको बरामद गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार प्रदेश सरकारको सहयोग तथा स्थानिय स्तरबाट समेत गरी झापा जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न मितिमा थप ९४ वटा सीसी क्यामेराहरु जडान गरिएको र झापाका बिभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेका करिब १५ लाख २७ हजार रुपैयाँ मुल्य बराबरका बिभिन्न किसिमका पटकाजन्य पदार्थहरु बरामद गरिएको छ । बरामद पटका आज आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको थियो ।
