दमक/ मिडियाका नाममा अनाधिकृत रुपमा न्यूजपोर्टल खोलेर निर्वाचनलाई लक्षित गर्दै अफवाह फैलाउँने र भ्रामक समाचार सम्प्रेषण गर्ने दुई वटा  वेवासइट सञ्चालनमा प्रेस काउन्सिल नेपालले रोक लगाएको छ । प्रेस काउन्सिल नेपाल देशभरका सञ्चार माध्यमहरुलाई नियमन गर्न बनेको अंग हो ।
प्रेस काउन्सिलमा सूचिकरण समेत नभएका कन्काई खबर डटकम र पोलिटिक्स अनलाइनको प्रकाशन प्रशारणमा रोक लगाउन निर्णय गरिएको काउन्सिलले जनाएको छ ।

झापाको क्षेत्र न ५ (२) प्रदेश सभाका उम्मेदवार गगन पुरीलाई लक्षित गरी कन्काई खबर अनलाइनले दुई दिन अघि प्रकाशन प्रशारण गरेको समाचार तथा भिडियोका बिषयमा काउन्सिलमा तत्कालै उजुरी परेको थियो ।
सो लगत्तै काउन्सिलले गरेको अनुगमनका आधारमा सो सञ्चार माध्यम र प्रशारित सामग्री पूर्वाग्रही ढंगबाट आएको र पत्रकार आचारसंहिता विपरीत रहेको समेत ठहर भएपछि ति वेवसाइटहरु नियमानुसार दर्ता नभएका तथा सूचीकरण नगरेका पाइएको काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लद्धारा नेपाल दुरसञ्चार प्राधिकरण कमलादी काठमाडौंलाई लेखि पठाएको पत्रमा उल्लेख छ । सो पत्रको बोधार्थ काउन्सिल अध्यक्ष, मुख्य अधिकृत, आचारसंहिता अनुगमन महाशाखा र साइबर ब्यूरो भोटाहिटीसहित उजुरीकर्ता गगन पुरीलाई समेत पठाइएको छ ।

कन्काई खबर डटकममा अनाधिकृत रुपमा दमक ९ ठेगाना उल्लेख गरेर मिना विक सम्पादक रहेको उल्लेख थियो । दमक ९ की विक नेकपा एमालेकी स्थानीय नेतृ तथा एमाले सम्बद्ध प्रेस चौतारी नेपालकी जिल्ला सदस्य हुन । उनी २०७४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित हुँदै नगरपालिकाको न्यायिक समिति सदस्यका रुपमा समेत रहेकी थिइन ।

सूचना तथा प्रशारण विभागले कुनै पनि अनलाइन मिडिया सञ्चालन गर्दा अनिवार्य रुपमा विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सुचिकृत हुनुपर्ने व्यवस्था गरेको छ । सोका लागि अनलाइन सञ्चार माध्यमको डोमेन सम्बन्धित सञ्चालककै नाममा दर्ता भएको हुनुपर्ने, सञ्चार माध्यम सञ्चालनका लागि कम्पनी दर्ता हुनुपर्ने, सञ्चालन गरिने अनलाइन सञ्चार माध्यममा कम्पनीको सञ्चालक र सञ्चार माध्यममा कार्यरत सम्पादकको पुरा नाम थर सम्पर्क नम्बर अनलाइन खोल्दा देखिने ठाउँमा राखेको हुनुपर्ने र सम्बन्धित निकायमा दर्ता र सूचीकृतको विवरण समेत देखिने ठाउँमा राखेको हुनुपर्ने व्यवस्था गरेको छ ।
पछिल्लो समय निर्वाचनमा कतिपय उम्मेदवार तथा दलहरुले आफनो प्रतिस्पर्धीका विरुद्ध अनर्गल , भ्रामक र तथ्यहिन सामग्रीहरु निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत प्रकाशन प्रशारण गराउन अनाधिकृत रुपमा अनलाइन सञ्चार माध्यमहरु सञ्चालन गर्ने , गराउने गरेको पाइन्छ । त्यस्तो गलत उद्धेश्य र मनसाय राखेर खोलिएका माध्यमहरुमा कतिपय मिडियामा कार्यरत पत्रकार, बिद्यार्थी , पार्टी कार्यकर्ताहरु र कथित अधिकारवादी तथा अभियान्ताहरुलाई दुरुपयोग गरेर आफनो अनुकुलका सामग्री बनाउने र सामाजिक सञ्जाल मार्फत बाहिर ल्याउने धन्दा चलिरहेको छ । त्यस्तो धन्दामा संलग्न भए वापत त्यस्ता प्रयोगमा आएका व्यक्तिहरुले ब्ल्याकमेल गर्ने गराउने, पैसा नदिए चरित्र हत्या गरिदिने, चुनावमा हराइदिने भन्ने जस्ता धम्की दिएर दुरुपयोग गर्ने गरेका छन ।

Facebook Comments Box