राजनीतिमा युवा सहभागिताको बहस यतिबेला चुलिँदो छ । योगदानको कदर अवसर लिँदा भन्दा अवसर त्याग्दा धेरै हुन्छ भन्ने यथार्थ कथनको साक्षी पनि बनेका छन राजनीतिक वृत्तमा युवाहरु ।
संसदीय राजनीतिमा मुलुक हाँक्ने राजनीतिक दलहरुबाट दलगत उम्मेदवारीको आधिकारिकता पाउनुलाई आम मानिसले अवसरका रुपमा लिएपनि स्वयं उम्मेदवारका लागि भने यो चुनौतीको पहाड पनि हो ।
जव निर्वाचन परिणाम बाहिर आउँछ तब मात्रै अवसरको सिर्जना हुन्छ । त्यो अवसर कस्तो र केका लागि भन्ने बहस महत्वपूर्ण हुन्छ ।
पछिल्लो समय आम नागरिकको बुझाईमा अवसर र उम्मेदवारका लागि भने चुनौतीको अग्लो पहाड बनेर आएको छ मसिंर ४ ।
देशैभर हजारौं प्रतिस्पर्धीहरु माझ झापाको निर्वाचन क्षेत्र नं ५ (१) मा मुख्य गरी प्रमुख प्रतिस्पर्धी उम्मेदवारका रुपमा आंकलन गरिएका दुई युवा उम्मेदवार बीच हुन सक्ने चुनावी प्रतिस्पर्धालाई निक्कै महत्व र अर्थका साथ हेरिएको छ प्रदेश एकको राजनीतिमा ।
हिक्मत लाई दोश्रो जीतको आशा
बिद्यार्थी राजनीतिबाट उदाएका नेकपा एमालेका युवा नेता हुन हिक्मत कुमार कार्की । उनी एमाले – राप्रपाको तालमेलबाट उम्मेदवार बनेका हुन ।
गौरादहको डिपु चोकका स्थायीबासिन्दा कार्की एमाले सम्बद्ध अनेरास्ववियुमा आवद्ध भएर राजनीतिमा प्रवेश गर्दै संघीय संरचनापछि प्रदेश सभा सदस्यमा यो भुगोलबाट प्रतिनिधित्व गर्ने अवसर पाएका भाग्यमानी नेता पनि हुन । २०२३ सालमा एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका कार्कीले बिद्यालय तह सम्मको अध्ययन गौरादहमा नै पूरा गरेका हुन ।
सो पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं हानिएका उनले समयसंगै पढाईमा मात्रै होइन राजनीतिमा पनि उचो स्थान बनाउन सफल भए । उनी एमाले सम्बद्ध अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने ।
उनले मुलुक संघीय संरचनामा गएपछि गठन भएको पहिलो ऐतिहासिक प्रदेश सभाको प्रदेश सभा सदस्यका रुपमा २०७४ मा झापा क्षेत्र नं ५ (१) का नागरिकहरुको प्रतिनिधित्व गरे । त्यति मात्रै होइन युवा नेता कार्की प्रदेश एक सरकारको पहिलो मन्त्रीमण्डलमा समेत पर्न सफल भए ।
झण्डै तीन बर्ष प्रदेश एक सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका उनको कार्यकालको पहिलो प्राथमिकता प्रदेश सरकार सञ्चालन सम्बन्धिको कानुन निर्माण थियो ।
आवश्यक कानुनहरुको निर्माणसंगै कार्कीको कार्यकालमा भएका अन्य कामहरुमा प्रहरी कार्यालयहरु भवनको संरचना निर्माण, प्रहरीलाई आवश्यक साधन स्रोतको उपलब्धतालाई लिन सकिन्छ ।
सँगसँंगै नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बोर्डर आउट पोस्टहरुको स्थापना, कोरोना कालमा नागरिकहरुको उपचार सेवाका लागि स्थानीय सरकार र माथिल्लो तहको सरकारका बीचमा रहेर पूलको भुमिका निर्वाह गर्ने कामलाई उनको कार्यकालका केही महत्वपूर्ण कामको सूचीमा राख्न सकिन्छ ।
उनले आफनो कार्यकालमा आफनो निर्वाचन क्षेत्रमा सञ्चालित महत्वपूर्ण योजनाहरुको फेहरिस्तनै प्रस्तुत गर्दै आफनो पार्टी , सरकार र व्यक्तिगत पहलमा समेत भएको दाबीसहित आसन्न निर्वाचनका लागि मत माग्दै मतदाताको घरदैलोमा छन । उनलाई निकटस्थ र उनका शुभेच्छकहरुले भावी मुख्य मन्त्रीका रुपमा समेत परिचित गराइरहेका त छन । यद्यपी भावी मुख्यमन्त्रीका रुपमा कार्कीको नाम पार्टीको सम्बन्धित कमिटीमा औपचारिक निर्णय भने भइसकेको छैन ।
पूर्व मन्त्रीलाई जिवनको चुनौती
तरुण दल मार्फत नेपाली कांग्रेसको राजनीतिमा लागेका सशक्त र जुझारु स्वभावका युवा व्यक्तित्व जिवनकुमार राई झापा क्षेत्र नं ५ (१) मा प्रदेश सभा सदस्यका लागि कांग्रेस, माओवादी र नेकपा एसको समेत संयुक्त गठबन्धन तर्फका साझा उम्मेदवार हुन ।
पार्टी संगठनसंगै उद्योग व्यवसाय र सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील गौरादह डिपु चोकका स्थायीबासिन्दा राईले विगतमा नेपाल तरुण दल झापा क्षेत्र नं ६ को सभापति, कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै गौरादहका उद्योगी व्यवसायीहरुको साझा संस्था गौरादह उद्योग वाणिज्य संघको अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन ।
भुँइ मान्छे र २४ घण्टे एम्बुलेन्स उम्मेदवारका रुपमा परिचित गराउँदै उनी यो निर्वाचनमा हिंडिरहेका छन । राजनीतिक कामलाई कम र सामाजिक सेवाको कामलाई महत्व दिनुपर्ने युवा पुस्ताको चाहना रहेको उनको ठम्याई छ ।
आफनो क्षेत्र अन्तर्गतमा रहेको खोला नदीको कटान र डुबानको समस्यादेखि विपन्न नागरिकहरुका गाउँ टोल र घर घरका समस्यालाई आफूले पहिचान गरेको भन्दै क्षेत्रबासीको दुखसुखको असल सारथी बनेर सधैं उभिने प्रतिबद्धतासहित उनी चुनावी घरदैलोमा व्यस्त छन ।
आफनै पहलमा कैयौं बेरोजगार युवा, महिलालाई विभिन्न सेक्टरमा रोजगारीका लागि जोडदै आएको र यसैलाई अझ प्रभावकारी ढंगबाट निरन्तरता दिने घरदैलोमा उनले राख्ने गरेको अर्को महत्वपूर्ण प्रतिबद्धता हो ।
१४ औं महाधिवेशनबाट कांग्रेस झापा क्षेत्र नं ५ (१) को सभापतिमा निर्वाचित भएका युवा नेता राईले लायन्स क्लब, जेसीज लगायत विभिन्न युवा क्लब एवं खेलकुद सम्बद्ध संघ संस्थाहरुमा क्रियाशील रहेर आफनो व्यक्तिगत र विभिन्न सामाजिक संघ संस्था तथा दाताहरुसंगको समेत समन्वयमा बाढी पीडितहरुको राहत तथा उद्धार, कोरोनाका कारण गरिएको लकडाउन प्रभावित विपन्न मजदुर, आगलागी तथा विभिन्न प्रकोपमा परेका पीडितहरुको पीडामा मल्हम पट्टी लगाउन सक्रिय बनेर आफूलाई सामाजिक रुपमा समेत स्थापित गराएका कारण उनको पहिचान पनि उत्तिकै फराकिलो छ ।
यो फराकिलो पहिचान यस क्षेत्रमा पर्ने गौरादह नगरका ८ वटा वडा, कमल गाउँपालिकाको साविक तोपगाछी खण्ड र गौरीगञ्ज गाउँपालिकाका ४ वटा वडाका नागरिकहरुमाझ कस्तो छ ? र आगामी निर्वाचनमा कार्कीले कि राईले बाजी मार्ने हुन भन्ने निष्कर्षका लागि भने मंसिर ४ को चुनावी परिणाम सम्म कुर्नै पर्ने हुन्छ ।
