दमक/ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अकस्मात समस्या आएको छ ।
आज अपरान्ह काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै आफनो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकी संगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा उनी उपस्थित हुन सकेनन । बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसंगको पत्रकार भेटघाटमा पत्रकारहरु उनको पर्खाईमा एक घण्टा बढी समय बसेका थिए ।
सोही समयमा अचानक अध्यक्ष ओलीको स्वास्थ्यमा समस्याका कारण पत्रकार सम्मेलनमा उपस्थित हुन नसक्ने सूचना प्राप्त भएको थियो । पत्रकार भेटघाटमा अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क्षेत्र कका उम्मेदवार समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गराएका थिए ।
आफनो निर्वाचन क्षेत्रमा गएको २३ असोजमा आएर मनोनय दर्ता गराएपछि काठमाडौं फर्किएका ओलीको उपस्थितीमा दमकमा पहिलो पटक औपचारिक रुपमा पत्रकारसँगको भेटघाट आयोजना भएको थियो ।
अध्यक्ष ओलीसँगको पत्रकार भेटघाट कार्यक्रम भनिएपनि ओली उपश्थित हुन नसकेपछि प्रदेश उम्मेदवार हिक्मत कार्की र होमबहादुर थापाले आफ्नो चुनावी एजेण्डा बारे जानकारी गराएका थिए भने निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले पार्टीको निर्वाचन तयारीबारे जानकारी गराएका थिए ।

मंगलबार अपरान्ह भद्रपुर विमानस्थलमा ओर्लिएका अध्यक्ष ओलीलाई स्वागत गर्दै कार्यकर्ताहरु