दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारदेखि पर्सी बिहिबार सम्म  गृह जिल्ला झापामा व्यस्त हुने भएका छन । कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि अध्यक्ष ओली आज पौने २ बजे काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिनेछन ।
एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार साढे ४ बजे दमकमा पत्रकार भेटघाटमा सहभागी भएर उनले नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
भोली बुधबार विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा र २ बजे दमकमा कार्यकर्ता भेटघाट गर्ने ओलीको कार्यक्रम छ । बिहिबार ३ गते दमक ३ को आमचोक र कमल गाउँपालिका ३ केर्खामा मतदातासँग भेटघाटको कार्यक्रम सार्वजनिक भएको छ । अध्यक्ष ओली ३ गते दिउसो २.५० बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

सातौं पटकमा आउँदा देखिए यस्ता चुनौती
ओली झापाको पश्चिम दक्षिण भुगोल समेटिएको निर्वाचन क्षेत्र नं ५ बाट यहि मसिंर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन । उनी यो भुगोलबाट सातौं पटक निर्वाचन लडदैछन ।
अघिल्लो २०७४ को निर्वाचनमा माओवादी र राप्रपाको समेत साथ पाएर यो निर्वाचन क्षेत्रबाट भारी मतसहित विजयी बनेका ओलीका लागि आसन्न निर्वाचन जित्न भने चुनौती रहेको स्थानीयस्तरमा चर्चा छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रका चार पालिका मध्ये तीन वटाको प्रमुख पद गुमाएको छ ।
यससंगै देशव्यापी रुपमा चलेका पुराना र पाका अनुहारलाई चुनाव हराउने नयाँ पुस्ताको अभियान यो क्षेत्रमा पनि चलिरहेको छ । अघिल्लो पटक राजनीतिक स्थिरताका लागि भन्दै ओलीकै नेतृत्वमा कम्युनिष्टहरुले पाएको बहुमतको समेत सदुपयोग गर्न नसकेको तथ्यले ओलीमाथि चुनौती थपिदिएको छ ।
त्यस्तै ओलीले २०४८ सालयता यस क्षेत्रमा अघि सार्दै आएका चुनावी एजेण्डा कार्यान्वयनमा इमान्दार नभएको गुनासो पनि उत्तिकै छ । एमाले नेताहरुले भने यो ठाउँसहित देशभरको बिकास हुन नसक्नुका पछाडी गठबन्धन सरकारलाई दोष दिँदै नियमित जस्तो पत्रकार सम्मेलन गर्ने र गठबन्धन सरकारमाथि खनिने अभ्यास गर्दै आएका छन ।

Facebook Comments Box