काठमाडाैँ / प्रतिनिधिसभा १ सय १० र प्रदेशसभातर्फ २ सय २० सिटका लागि हाल दलले बुझाएको बन्द सूचीमा दाबी उजुरी जारी छ । यही असोज २३ गतेबाट सुरु भएको सो कार्यक्रम यहि २९ गतेसम्म जारी रहने छ । सबै वर्ग र जातजातिलाई राज्य संरचनाको सबै तहमा सहभागी गराउन २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलोपटक प्रयोग गरिएको समानुपातिक निर्वाचन प्रणालीमा कसरी उम्मेदवारी निर्वाचित हुन्छन् भन्ने चासोको विषय बनेको छ ।
अहिले दोस्रो चरण अन्तर्गत दलहरुले पेश गरेको नामावलीविरुद्ध दाबी उजुरी पेश गर्ने कार्यक्रम जारी छ । सो कार्यक्रम यहि २९ गतेसम्म चल्ने छ । सो समयावधीमा केहि नामावलीमा दाबी उजुरी परेको खण्डमा त्यसलाई सच्याएर आयोगलले पुन कात्तिक ८ गते अर्को सूची प्रकाशन गर्ने छ भने कात्तिक ९ गते आयोगले अन्तिम बन्द सूची सार्वजनिक गर्ने छ ।
यस्तै मंसिर ४ गते हुने निर्वाचनबाट मतपरिणाम सार्वजनिक भएपछि दलहरुले प्राप्त गर्ने मतका आधारमा आयोगले कुन दलले कति सिट पाउने हो भन्ने निर्धारण गर्ने छ । त्यसपछि दलहरुले बन्द सूचीमा परेका समावेशी चरित्र सहितका उम्मेदवारलाई सिफारिस गरेर पठाउने छन् । त्यसपछि संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत र समावेशी समूहबाट प्रतिनिधित्व सुनिश्चित हुने गरि आयोगले सिफारिसमा परेका उम्मेदवारलाई निर्वाचित घोषणा गर्ने छ ।