झापाका सबै निर्वाचन क्षेत्र मध्ये यस पटक क्षेत्र नं २ को निर्वाचन फरक किसिमको रोचक बन्ने देखिएको छ ।  सो क्षेत्र सत्तारुढ गठबन्धनका कांग्रेस र माओवादी मध्ये कसको भागमा पर्ने हो भन्ने अन्योलका बीच प्रतिनिधि सभा सदस्यमा कांग्रेस एमाले गठबन्धनका तर्फबाट एमालेका विद्रोही नेता हरि रानाले मनोनयन दर्ता गराए भने नेकपा एमाले र राप्रपाको समिकरणमा को उम्मेदवार भन्ने कुराको निक्र्यौल पनि निक्कै ढिलो गरी भयो ।

क्षेत्र नं २ बाट एमालेका नेता एवं पूर्व मन्त्री अग्नी खरेल र पार्टीका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको नाम निक्कै चर्चामा थियो । एकाएक खरेललाई क्षेत्र नं १ मा पठाउँदै एमालेले अन्तत नेता घिमिरेलाई उम्मेदवार बनाएसंगै सो क्षेत्रमा अब एमाले भर्सेस पूर्व एमालेको रोचक भिडन्त हुने भएको छ । न कांग्रेसले उम्मेदवारी दियो न माओवादीले न एकीकृत समाजवादीले । पूर्व एमाले नेता रानाको उम्मेदवारीसंगै त्यहाँ एमालेका घिमिरेलाई चुनावी नतिजा हात पार्ने वातावरण सहज बनेको राजनीतिक वृत्तमा चर्चा छ ।
लामो समय विर्तामोडलाई कर्मक्षेत्र बनाएका नेता घिमिरेको भाग्य चम्किएको हो कि भन्ने पूर्वानुमान व्यापक रुपमै भइरहेको छ यद्यपी रानालाई कांग्रेस , माओवादी र एकीकृत समाजवादीको भित्रि मनदेखिनै समर्थन र साथ रहयो भने चाहिं चुनावी प्रतिस्पर्धा रोचक हुन सक्ने विश्लेषण पनि उत्तिकै भइरहेको छ ।

संघर्षपूर्ण राजनीतिमा सदैव क्रियाशील देवराज घिमिरे
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज कमरेड देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन ।
उनको निष्ठा र पार्टी प्रतिको लगाम कार्यकर्ता माझ प्रेरणा बनेको छ । पार्टी जीवन, राजनीतिक जीवनमा भोग्नु परेका कठिनाइहरुको बारेमा यतिबेला नागरिकहरुलाई सुसुचित नगर्ने हो भने अन्याय गरे सरह हुन्छ ।
ताप्लेजुड् जिल्ला साविक सिकैचा ६ हाल श्रीजंघा ३ स्थित वुवा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तान मध्ये माइला छोराको रुपमा २०१३ साल जेठ १३ गते उनको जन्म भएको थियो । गाउँकै सिंहदेबी प्रा.बि. बाट अध्ययन शुरु गरेका उनले भानु पव्लिक हाइ स्कुल, धरानको महेन्द्र वहुमुखी क्याम्पस हुदै काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा स्नातक सम्म अध्ययन गरेका छन । अध्ययन सगसगै कम्युनिष्ट आन्दोलनले उनलाइ प्रभाव पारिरहेकै थियो र २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेकपाको सम्पर्कमा आएका हुन । त्यसपछि २०३२ मा को. के. (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को अर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी)को गठन भए पछि विद्यार्थी संगठन मार्फत पार्टीमा होमिएका हुन नेता घिमिरे ।

२०३३ सालमा गाउ गाउमा पुगेर वुर्जुवा शिक्षा वाहिस्कार अभियानमा सकृय उनले २०३५ सालमा को. के. को सदस्यता प्राप्त गरे । देशमा छरिएर रहेका विभिन्न घटकहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी मालेको जिम्मेवारी प्राप्त गरेपछि तेह्रथुम र पाँचथर जिल्लामा पार्टी संगठन विस्तारको लागि खटिएका उनले महत्वपूर्ण योगदान पुरयाएका छन ।
२०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका उनी २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय सदस्यमा चुनिएका हुन ।
पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन सम्म आइपुग्नु अगाडी उनले पंचायती शासकहरुको अत्याचारको डटेर सामना गरेका थिए । विशेष गरेर इलाममा रत्नकुमार वान्तवाको बर्बरतापूर्बक हत्या गरेपछि पूर्बमा उदाउँदै गरेको कम्युनिष्ट आन्दोलनलाइ निभ्न नदिन र यथावत राख्न प्रदिप नेपाल र झलनाथ खनालले भूमिका निर्वाह गरेता पनि राष्ट्रिय राजनीतिमा स्थापित हुने आकांक्षा सहित राष्ट्रिय राजनीतिमा लागे ।
पार्टी कामलाइ व्यवस्थित बनाउन भूगोल राम्ररी बुझेको नेताको रुपमा तत्कालीन मालेले २०३९ सालदेखि घिमिरेलाइ इलाम जिल्लाको पार्र्टी प्रमुखको जिम्मेवारी प्रदान गर्याे । उनले जिम्मेवारी पाइसकेपछि इलाममा पार्टी संगठनले व्यापकता पायो भने पंचायती शासक उनको राजनितिक कृयाशीलता देखेर झस्कियो । त्यसपछि पक्राउ पुर्जी जारी गर्यो ।

एकातिर पक्राउ पूर्जी अर्कातिर सहयोद्दाहरुको निर्दलिय पंचायती शासकहरुले हत्या गर्दा समेत अविचलित भइ १० बर्ष भन्दा बढी इलाम पार्टी काममा समय बिताए । २०५० सालदेखि मेची अञ्चलको इन्चार्जको जिम्मेवारी पाएका घिमिरेले आफ्नो इन्चार्जसिपमा सिड्गो मेची अञ्चलमा पार्र्टीका सबै उम्मेदवारलाइ विजय गराएर लाल किल्ला बनाउन सफल भए ।
पार्टी भित्रको गुटबन्दीका कारण मारमा परेका घिमिरे विशेषगरी मदन भण्डारीको (रहस्यमय हत्या पछि)निधन भएपछि नेतृत्वमा पुगेका माधव नेपालले उनलाई उचित स्थान दिएनन ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएपछि उनको सचिवालय सम्हाले भने नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भइ बनेको नेकपाको प्रदेश एकको अध्यक्षको जिम्मेवारीमा रहँदा अनेकौं कठिनाइका बावजुत पनि पार्र्टी संगठनलाइ व्यबस्थित बनाए ।
राजनीतिक जीवनमा उनले भोगेका अनेकौं आरोह अवरोह सँगै हाल पार्र्टी स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश कमिटी अध्यक्ष रहेका घिमिरेलाई एमालेले झापा क्षेत्र नं २ बाट निर्वाचन जित्न सक्ने सम्भावना बोकेको उम्मेदवारका रुपमा उभ्याएको छ । उनीमाथि क्षेत्र नं २ का मतदाताले न्याय गर्ने हुन वा होइनन त्यो भने ४ मसिंर पछिनै थाहा हुनेछ ।

Facebook Comments Box