दमक/ इलामको चुलाचुली ४ पेल्टीमारीस्थित चुलाचुली इङलिस बोर्डिङ स्कूलले रजतजयन्ती विबिध कार्यक्रमसहित शुरु गरेको छ ।
बिद्यालयले मंगलबारदेखि औपचारिक रुपमा तीन दिन सम्म रजतजयन्ती मनाउन शुरु गरेको हो । बिद्यालयका संस्थापक निर्देशक पदम सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले रजतजयन्ती समारोहको उदघाटन गरेका छन ।


सो अवसरमा अध्यक्ष केरुङले स्थानीय सरकार गुणस्तरीय शिक्षाका लागि निजी र सामुदायिक बिद्यालयबीचको सहकार्य गरेर अघि बढाउन चाहेको उल्लेख गरे । उनले निजी तथा संस्थागत बिद्यालयहरुले गुणस्तरीय शिक्षामा दिइरहेको योगदानको प्रशंसा गरे । सो अवसरमा अध्यक्ष केरुङ, उपाध्यक्ष दिलकुमारी योङहाङ, चुलाचुली ४ का वडाध्यक्ष सागर जवेगु लगायत जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले बिद्यालयमा सञ्चालित विज्ञान प्रयोगशालाको समेत अवलोकन गरेका थिए । कार्यक्रममा बिद्यार्थी र महिला शिक्षकहरुले विभिन्न सांगितिक प्रस्तुतीहरु दिएर मनोरञ्जन दिलाएका थिए भने अभिभावकहरुका बीचमा रोचक खेलकुदका कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत राम मिश्र, बिद्यालयका पूर्व प्रिन्सिपल घनश्याम पौडेल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । रजत जयन्तीको अवसरमा बिद्यार्थी तथा अभिभावकहरुको संलग्नतामा भोली बुधबार र बिहिबार समेत विविध कार्यक्रमहरु सञ्चालन हुने जनाइएको छ । रजतजयन्ती समापनका अवसरमा गायक टंक बुढाथोकी, बाल कलाकार अशोक दर्जी लगायतको पनि प्रस्तुती रहने बिद्यालयले जनाएको छ ।

Facebook Comments Box