दमक/ झापाका पाँच वटा संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि कूल १०१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले नेता पूर्व मन्त्री अग्नी खरेल लगायत हेविवेटहरुको उम्मेदवारीले झापा जिल्ला निर्वाचनका लागि चर्चामा छ । एमाले अध्यक्ष ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार युग पाठक , गठबन्धनका डा. खगेन्द्र अधिकारी लगायत २७ जनाले मनोनयन दर्ता गराएका छन् ।
ओलीसंगको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको हो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि एक सय एक जनाले प्रतिनिधिसभातर्फ र एक सय ६ जनाले प्रदेशसभातर्फ उम्मेद्वारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउने मध्ये सबैभन्दा धेरै झापा क्षेत्र नं ५ मा नै रहेका छन् । त्यसमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी हुन् ।
प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं ५ मा महिलालाई उम्मेदवार नबनाए पनि अन्य साना दलका चार जना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वातन्त्र ३३ गरी झापामा एक सय एक जनाको उम्मेदवारी रहेको छ । जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित बीस जना, ३ मा अठार जना, ४ मा एक महिलासहित बीस र ५ मा चार महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।