भोजपुर/ प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गराएका छन । उनले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गरेका हुन । उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन । मुख्यमन्त्री राई सो पार्टीको सचिव पनि छन । भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गराएका छन । बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्यमन्त्री राईले फेरि पनि अराजकता र प्रतिगमनको बाटो समाएका संघीय लोकतन्त्र र गणतन्त्रविरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मंसिर ४ गते अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

 

Facebook Comments Box